काठमाडौं । इरान सरकारले प्रदर्शनकारीमाथि गरिरहेको दमन तीव्र बन्दै गएसँगै सयौँको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको छ । यसैबीच, इरानले अमेरिकाले आक्रमण गरेमा आफूले कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।
बीबीसीका स्रोत र अधिकारकर्मीहरूका अनुसार स्थिति निकै भयावह बन्दै गएको छ । तेहरानका एक स्रोतले आइतबार भने, “यहाँको अवस्था धेरै खराब छ । हाम्रा धेरै साथीहरू मारिएका छन् । सुरक्षाकर्मीहरूले सिधै गोली चलाइरहेका छन् । सडकहरू युद्ध मैदानजस्तै देखिएका छन् र जताततै रगत छ । उनीहरूले ट्रकमा राखेर शवहरू लगिरहेका छन् ।”
बीबीसीले तेहरान नजिकैको एक शवगृहको फुटेजमा करिब १८० वटा शव राखिएका झोला गणना गरेको छ । अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी’ले देशव्यापी रूपमा ४९५ प्रदर्शनकारी र ४८ सुरक्षाकर्मी गरी ५४३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । एजेन्सीका अनुसार दुई हप्ताको अशान्तिमा १० हजार ६०० भन्दा बढी मानिस पक्राउ परेका छन् ।
प्रदर्शनकारीको हत्यालाई लिएर अमेरिकाले इरानमाथि आक्रमण गर्ने धम्की दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरान स्वतन्त्रताको खोजीमा रहेको भन्दै अमेरिका मद्दतका लागि तयार रहेको बताएका थिए ।
यद्यपि, ट्रम्पले कस्तो प्रकारको मद्दत गर्ने भन्ने स्पष्ट पारेका छैनन् । सीबीएस न्युजका अनुसार ट्रम्पलाई इरानमाथि हुन सक्ने सैन्य आक्रमणका विभिन्न विकल्पहरूबारे ब्रिफिङ दिइएको छ ।
साथै आक्रमणको थप विकल्पहरूमा अनलाइन माध्यमबाट अमेरिकाले सरकारविरोधी विषयहरूलाई प्राथमिकता दिने, इरानी सेनाविरुद्ध ‘साइबर हतियार’ प्रयोग गर्ने र थप कडा आर्थिक प्रतिबन्धहरू लगाउने बताएको छ ।
यसको जवाफमा इरानी संसद्का सभामुखले यदि, अमेरिकाले आक्रमण गरेमा यस क्षेत्रमा रहेका इजरायल र अमेरिकी सैन्य तथा ढुवानी केन्द्रहरू वैधानिक निशाना बन्ने चेतावनी दिएका छन् ।
आकासिँदो महँगीबाट सुरु भएको यो प्रदर्शन अब सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको धार्मिक शासन अन्त्यको मागमा परिणत भएको छ । इरानका महान्यायाधिवक्ताले प्रदर्शन गर्ने जोकोहीलाई ईश्वरको शत्रु मानिने र त्यसका लागि मृत्युदण्ड हुनसक्ने बताएका छन् ।
बीबीसीसँग कुरा गर्दै धेरै अस्पतालका कर्मचारीहरूले मृतक र घाइते प्रदर्शनकारीहरूको संख्याले अस्पतालहरू भरिभराउ भएको बताएका छन् ।
यसैबीच, रश्त सहरमा शुक्रबार राति एउटै अस्पतालमा ७० वटा शव ल्याइएको पुष्टि भएको छ । तेहरानका एक स्वास्थ्यकर्मीका अनुसार धेरैजसो युवाको टाउको र मुटुमा सिधै गोली लागेको छ । धेरैको अस्पताल पुग्नुअघि नै मृत्यु भएको छ ।
