Lite Nepal

बुधबार, पुष ३०, २०८२

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवासंघ नेपालका अध्यक्ष क्षितिज थेबेले पार्टी भित्रको गुटबन्दीले आउन लागेको प्रतिनिधिसभा निर्वाचनमा कुनै असर नपर्ने दाबी गरेका छन् । 

नेकपा एमाले ताप्लेजुङ – काठमाडौं सम्पर्क मञ्चले मंगलबार साँझ काठमाडौंमा आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुटबन्दी आन्तरिक हुने र बाह्य दलसँग लड्दा सधैँ एमाले एक ढिक्का हुनेमा दुई मत नरहेको दाबी गरे ।

‘नेकपा एमालेका आन्तरिक प्रतिस्पर्धा र सङ्घर्षहरू लोकतान्त्रिक तरिकाले अघि बढ्छन् । र, १४औं राष्ट्रिय महाधिवेशन पनि यसको एउटा उदाहरण हो । तर, नेकपा एमाले अन्य दलसँग प्रतिस्पर्धा गर्दा एक ढिक्का भएर लड्छ, यो एमालेको इतिहास हो,’ थेबेले भने । 

यस पटक हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट प्रतिस्पर्धा गर्न आफूले पनि इच्छा राखेर टिकटका लागि सिफारिस भएको उल्लेख गर्दै उनले सिफारिस भएका ५ जनामा जसले टिकट पाए पनि अन्य सबैले साथ दिएर एमालेलाई विजयी गराउने उद्घोष गरे । 

‘पार्टीले कसलाई टिकट दिन्छ त्यो मतलब भएन । राष्ट्रलाई सङ्कट परेका बेला देशलाई बचाउने जिम्मा नेकपा एमालेको हो । त्यसैले हामी जो कोहीले टिकट पाए पनि हामी देश बचाउन एक भएर लाग्नेछौँ,’ उनले भने, ‘ताप्लेजुङका नेता कार्यकर्ता हातमा हात मिलाएर अघि बढ्न तयार छन् । ताप्लेजुङमा नेतृत्वले जे निर्णय गर्छ, कार्यकर्ता एक ढिक्का भएर लाग्नेछन् ।’

ताप्लेजुङको सन्दर्भमा बोल्दै उनले जिल्लाको पार्टीमा देखिएको अन्तर्विरोध सबै समाधान गरेर अघि बढ्ने जिल्लाका पार्टी नेतृत्वसँग छलफल भएको पनि जानकारी दिए । ‘हिजो हामी जिल्ला अध्यक्षसहित नेतृत्वसँग बसेर यो विषयलाई समाधान गरेर अघि बढ्न सहमत भएकाछौं,’ उनले भने । 

पार्टी नेतृत्वको प्रशंसा गर्दै उनले अगाडी थपे, ‘भदौ २३ र २४ पछि एउटा मन्त्रीमण्डल निर्माण गर्न विदेशी नियोग लागेको हामीले देखेका छौँ । हाम्रा नेतृत्वले मुलुकको रक्षा कसरी गरेका रहेछन् भन्ने अब जनताले बुझ्नुपर्छ ।’

नेकपा एमालेको युवा केन्द्रित अभियानका विषयमा बोल्दै उनले अब राष्ट्रिय मिडिया र सामाजिक सञ्जाल एमालेमय हुने दाबी गर्दै युवाहरू ‘डिजिटल्ली’ र ‘फिजिटल्ली’ अघि बढ्ने बताए । 

अभियानका संयोजकसमेत रहेका थेबे युवा शक्तिलाई एकीकृत गर्दै देशव्यापी रूपमा सशक्त ढंगले लैजाने कार्य योजना निर्माण भएको र यसको नतिजा देखिन अब सुरु हुने उद्घोष गरे । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा