ताप्लेजुङ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा ताप्लेजुङको राजनीति तातेको छ । यस पटक चुनावी बहसको केन्द्रमा छन्, – नेकपा (एमाले) का केन्द्रीय सदस्य, युवा नेता तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे ।
उनको उम्मेदवारीले यो निर्वाचनलाई केवल दलगत प्रतिस्पर्धा मात्र होइन, युवा नेतृत्वका लागि परम्परागत राजनीतिको बहसमा पनि रूपान्तरण गरिदिएको छ ।
एमालेले ताप्लेजुङबाट क्षितिज थेबेलाई अघि सार्नु सामान्य निर्णय होइन । पछिल्ला वर्षहरूमा युवामाझ बढ्दो राजनीतिक वितृष्णा, वैदेशिक पलायन र मतदाता उदासीनतालाई ध्यानमा राख्दै एमालेले युवा अनुहारमार्फत भरोसा फर्काउने रणनीति अपनाएको देखिन्छ ।
थेबे पार्टीभित्र संगठन निर्माण, अनुशासन र युवा परिचालनमा खारिएका नेता मानिन्छन् । राष्ट्रिय युवा संघको नेतृत्वमार्फत उनले देशव्यापी नेटवर्क बनाएका छन्, जुन एमालेका लागि चुनावी हिसाबले महत्त्वपूर्ण मानिन्छ । यही कारण पार्टीले अनुभवी तर, स्थापित नेताभन्दा पुस्तान्तरणको सन्देश दिने उम्मेदवार रोजेको विश्लेषण गरिन्छ ।

क्षितिजले ताप्लेजुङका विषयमा के सोचिरहेका छन् ?
क्षितिज थेबेको एउटै भनाई छ, ‘अब ताप्लेजुङको आवाज, मेरो आवाज हुनेछ ।’ ताप्लेजुङ प्राकृतिक स्रोत, पर्यटन सम्भावना र कृषि उत्पादनका दृष्टिले सम्पन्न भए पनि पूर्वाधार, बजार र रोजगारीका हिसाबले पछि परेको जिल्ला हो । अब यसको विकासमा उनको ध्यान जाने उनी बताउँछन् ।
जिल्लाका धेरै ग्रामीण सडकलाई अझै पनि मौसमले असर गर्छ । स्वास्थ्य सेवा सीमित छ । उत्पादन भए पनि बजारसम्म पुर्याउने संयन्त्र कमजोर छ । युवाको ठूलो हिस्सा विदेश पलायन भएको छ । यी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक भए पनि स्थानीय स्तरमा ‘सांसदले के फरक पार्यो ?’ भन्ने प्रश्न आम छ । यही प्रश्नको जवाफ खोज्ने मतदाताको मनोविज्ञानलाई थेबेले आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राखेको बताएका छन् ।
थेबेले सार्वजनिक रूपमा अघि सारेका एजेन्डा — पूर्वाधार, कृषि, पर्यटन र युवा रोजगारी— नयाँ होइनन् । तर, उनी फरक यति दाबी गर्छन् कि, ‘म युवा प्रतिनिधि भएकाले कार्यान्वयनमा दबाब सिर्जना गर्न सक्नेछु ।’
उनले अलैंची, जडीबुटी र पर्यटनलाई ताप्लेजुङको ‘कोर इकोनोमी’ बनाउने कुरा उठाउँदै आएका छन् । संसदमै बसेर बजेट, नीति र कार्यान्वयनमा निगरानी गर्ने उनको दाबी व्यवहारमा कति प्रभावकारी हुन्छ, त्यो भने मतदाताले परीक्षण गर्न चाहेका छन् ।

युवा मतदाता : सम्भावना र जोखिम
ताप्लेजुङमा युवा मतदाता निर्णायक बन्दै गएका छन् । तर यही समूह सबैभन्दा राजनीतिप्रति निराश पनि छ ।
थेबेको उम्मेदवारीले युवामाझ आशा जगाएको छ, तर अपेक्षा पनि उत्तिकै उच्च छ । यदि उनी जितेपछि पनि परिवर्तन देखिएन भने, त्यसको असर केवल एक व्यक्तिमा सीमित नरही युवा राजनीतिप्रतिको विश्वासमै नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषकहरू बताउँछन् । थेबे पनि आफू यो कुरामा सचेत रहेको बताउँछन् । भन्छन्, ‘अनुभव सिक्न सकिन्छ, तर परिवर्तन गर्ने इच्छाशक्ति सबैसँग हुँदैन ।’

मतदाताको घर घरमा क्षितिज
उम्मेदवारी दर्ता पछि थेबेले ताप्लेजुङलाई राष्ट्रिय विकासको मूलधारमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनी अहिले जिल्लाका मतदाताको घरघरमा पुगिरहेका छन् । र, भनिरहेका छन्, ‘ताप्लेजुङ सम्भावनाले भरिएको जिल्ला हो । तर राज्यको ध्यान पर्याप्त पुग्न सकेको छैन, अब विकास, रोजगारी र सुशासनका मुद्दा संसदबाट मजबुत रूपमा उठाइनेछ ।’
थेबेले जिल्लाको सडक सञ्जाल, विद्युत्, खानेपानी र स्वास्थ्य सेवा सुधारलाई आफ्नो भविष्यमा गर्ने कामको पहिलो प्राथमिकतामा राखेका छन् । तमोर कोरिडोर, ग्रामीण सडक स्तरोन्नति र दुर्गम बस्तीमा आधारभूत सेवा विस्तार उनका मुख्य एजेन्डामा हुन् ।
कृषि क्षेत्रमा अलैंची, जडीबुटी, किवी, चिया लगायत नगदे बालीको उत्पादन र बजारीकरणमा जोड दिइने उनले मतदातालाई बताएका छन् । ‘कृषिलाई आम्दानीसँग जोडेर युवालाई यहीँ रोजगारी दिन सकिन्छ,’ उनको भनाइ छ ।
यसैगरी पाथीभरा क्षेत्र र कञ्चनजंघा क्षेत्रको दिगो पर्यटन विकासमार्फत जिल्लाको अर्थतन्त्र मजबुत बनाउने योजना उनले अघि सारेका छन् ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्षसमेत रहेका थेबेले युवाका मुद्दालाई संसदको केन्द्रीय विषय बनाउने बताएका छन् । सीपमूलक शिक्षा, स्टार्टअप प्रवद्र्धन, कृषि तथा पर्यटनमा आधारित रोजगारी सिर्जना र वैदेशिक रोजगारीमा जाने युवाको सुरक्षा उनका प्रमुख एजेन्डा हुन् ।
‘युवा विदेश पलायन होइन, उत्पादन र उद्यमशीलतामा जोडिनुपर्छ,’ उनले भने, ‘राज्यले त्यसका लागि नीति र बजेट सुनिश्चित गर्नुपर्छ ।’

क्षितिजका सुशासन र जबाफदेहीताका कुरा
थेबेले विकास बजेटको पारदर्शी उपयोग, जनप्रतिनिधिको जवाफदेहिता र भ्रष्टाचारविरुद्ध कडा अडान लिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । नियमित रूपमा नागरिकसँग संवाद गर्ने र ताप्लेजुङका समस्या संसदमा निरन्तर उठाउने उनको दाबी छ ।
युवा नेतृत्वलाई अघि सार्ने रणनीतिअन्तर्गत एमालेले थेबेलाई उम्मेदवार बनाएको बताइएको छ । स्थानीय तहमा पनि उनको उम्मेदवारीले युवा मतदातामा उत्साह थपिएको एमालेको दाबी छ ।
