मेरो भोट बिक्रीमा छैन
मागेर पाइँदैन,
मेरो भोट
मागेर कहाँ पाइन्छ र
माग्दैमा कहाँ दिइन्छ र
भोट भिक्षा होइन
मलाई घाँडो पनि भा छैन
पैँचो दिने वस्तु होइन
एक फाँको खैनी ,
एक खिल्ली बिँडी
एक ढुङ्ग्रो मोही हो र मेरो भोट?
मेरो भोट बिक्रीमा छैन
मागेर पाइँदैन ।
मेरो भोट ,
देश बनाउने औजार हो ,
समाज उजिल्याउने ऊर्जा हो,
मेरो देश घेर्ने काँडे तार हो ,
जङ्गे पिलर हो ,
देश हराभरा बनाउने मल हो
धरती सिञ्चित गर्ने जल हो
मेरो भोट बिक्रीमा छैन
मागेर पाइँदैन ।
गाली र तालीमा होइन
कसैले देखाको हरियो
डालीमा होइन,
यो देशको लागि ,
यो समाजका लागि
हिजो के गर्यौ ?
आज के गरिरहेका छौ?
भोलि के गर्छौ?
त्यसैमा निर्भर गर्छ मेरो भोट ,
मेरो भोट बिक्रीमा छैन
मागेर पाइँदैन ।
-चन्द्रकुबेर खापुङ
पूर्व आइजिपी
