काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबार सुरु गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था तयार गर्दै सुझाव मागेको छ।
प्रारम्भमा पहिले सेयर किनेर सोही दिन बिक्री गर्न सकिने व्यवस्था लागू गर्ने प्रस्ताव गरिएको छ। ‘सेल फर्स्ट, बाइ लेटर’ अर्थात् पहिले बिक्री गरेर पछि खरिद गर्ने व्यवस्था भने आवश्यक सर्ट सेलिङ तथा धितोपत्र सापटी पूर्वाधार तयार भएपछि मात्रै लागू गर्ने प्रस्ताव छ।

तरलता र जोखिमका आधारमा सीमित धितोपत्रमा मात्रै इन्ट्राडे कारोबार सुरु गर्ने तथा परीक्षण र पाइलट कार्यान्वयनपछि चरणबद्ध रूपमा विस्तार गर्ने बोर्डको प्रस्ताव छ। बोर्डले लगानीकर्ता, ब्रोकर तथा अन्य सरोकारवालाबाट अवधारणापत्रमाथि राय–सुझाव मागेको छ।