विराटनगर । सुनसरीको देवानगन्जमा शनिवार साँझ भएको घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती फेरि सतहमा ल्याएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा दुई युवा समूहबिच भएको झडपमा २४ वर्षीय नीरजकुमार यादव घाइते भएपछि घटनाले सामाजिक सञ्जालमा समेत चर्चा पायो ।
सुरुमा धार्मिक समुदायबिचको झडप हुनसक्ने आशंका गरिए पनि प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनाको पृष्ठभूमि अर्कै देखाएको छ । प्रहरीका अनुसार घटना दुई समूहबिचको आपसी मनमुटाब बाट सुरु भएको देखिन्छ । प्रारम्भिक अनुसन्धानमा युवतीको विषयलाई समेत विवादको सम्भावित कारणका रूपमा हेरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा देवानगन्ज–२ का विष्णुकुमार यादव र जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप केही व्यक्ति फरार रहेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तर, घटनाको सबैभन्दा गम्भीर पक्ष भने नीरजकुमार यादवलाई लागेको चोट गोलीको हो कि अन्य कुनै वस्तुको प्रहारबाट भएको हो भन्ने विषय बनेको छ घाइते यादवले आफूलाई गोली लागेको दाबी गरेका छन् । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
उपचारका क्रममा चिकित्सकले शल्यक्रिया गर्दा शरीरभित्रबाट एउटा गोली भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवं प्रवक्ता चन्द्र खड्का बताउँछन ।
सुनसरी प्रहरीले सामान्य चोट भनेर विज्ञप्ति जारी गरेको थियो नि ? भन्ने प्रश्नमा उनले शल्यक्रिया गरेर डाक्टरले प्रमाणित नगरेसम्म आफूहरूले पनि दाबी गर्न नसकिने बताए । चिकित्सकीय परीक्षणबाट बल्ल गोली लागेको पुष्टि भएको उनको भनाइ छ ।
यहाँबाट देवानगन्ज घटनाको अर्को पाटो सुरु हुन्छ…
झडपको कारण युवती कि पुरानो मनमुटाब ? यो प्रश्न पनि सतहमा नै छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनालाई दुई युवा समूहबिचको विवादको कारण युवती रहेको बताउँछन् । डिएसपी खड्काका अनुसार समूहबिच पहिले देखिको मनमुटाब र युवतीसम्बन्धी विषय विवादको कारण हुनसक्ने देखिएको छ ।
तर घटनाको वास्तविक कारण यही मात्र हो कि विवादको पछाडि अरू कुनै आर्थिक वा आपराधिक पाटो पनि छ भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएका छ ।
तर, श्रोतले दिएको जानकारी अुनसार केही दिन अगाडी सुनसरी प्रहरीले १५ सय गाँजा पिक अप भ्यानमा पक्रेको थियो । इनरुवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट अवैध लागूऔषध गाँजा पक्राउ गरेको थियो । गाँजासहित पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका–५ बस्ने ३० वर्षीय राम बहादुर यादव रहेका छन् । उनलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको थियो ।घटनाको एउटा कारण यो पनि रहेको श्रोतको दाबी छ ।
त्यसो त स्थानीयवासीले पनि घटनालाई सीमावर्ती क्षेत्रमा लामो समयदेखि देखिँदै आएको अवैध गतिविधिसँग जोडेर हेरेका छन् । उनीहरूका अनुसार रातको समयमा सीमावर्ती क्षेत्रमा तस्करी गतिविधि हुने गरेको छ । विशेष गरी गाँजाको ओसारपसार हुने गरेको स्थानीयको दाबी छ ।
स्थानीयका अनुसार गाँजा ओसारपसार नगर्न सम्झाउने विषयमा समेत विवाद हुने गरेको र पछिल्लो घटना त्यसैसँग जोडिएको हुनसक्ने आशंका छ । तर यी स्थानीयवासीले गरेको दाबीहरूको पनि अनुसन्धान र गम्भिररुपमा लिएको डिएसपी खड्लाले बताए ।
स्थानीयवासीले विगतदेखि नै रातको समयमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय कमजोर भएको आरोप लगाउँदै आएका छन् । उनीहरूका अनुसार वडा नम्बर २ बाट आएर वडा नम्बर १ का व्यक्तिमाथि आक्रमण गर्ने अवस्था आउनुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ ।
स्थानीयले पहाडी क्षेत्र हुँदै इटहरीतर्फ गाँजा ओसारपसार हुने गरेको दाबीसमेत गरेका छन् । यद्यपि प्रहरीले हालसम्म घटनालाई गाँजा तस्करीसँग प्रत्यक्ष रूपमा जोडिएको निष्कर्ष सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता खड्काले स्थानीयबाट तस्करीसँग सम्बन्धित कुराहरू आएको स्वीकार गर्दै ती कोणबाट समेत प्रहरीले जानकारी संकलन गरिरहेको बताएका छन् । तर प्रारम्भिक अनुसन्धानमा घटनाको मुख्य कारण दुई समूहबिचको विवाद यवती देखिएको प्रहरीको दाबी छ ।
गोली चलेको हो भने हतियार कहाँ छ ?
घटनाको अनुसन्धानमा सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही बनेको छ । यदि नीरजकुमार यादवमाथि गोली प्रहार भएको हो भने गोली चलाउने हतियार कहाँ छ ? घटनास्थलबाट कुनै खोका वा अन्य प्रमाण बरामद भएको छ कि छैन ?
घाइतेको शरीरबाट निकालिएको वस्तु वास्तविक बुलेट हो कि अन्य कुनै धातुको वस्तु ? गोली कुन प्रकारको हतियारबाट चलाइएको हो ? बिहानको शल्यक्रियापछि डाक्टरले प्रमाणीकरण गरेपछि डिएसपी खड्काले घाइतेको शरीरबाट गोलि भटिएको पुष्टि गरेको छ । तर, गोली चलाएको हतियार के कस्तो थियो भन्ने मिहिन ढंगबाट अनुसन्धान भइरहेको बताए ।
गोली घरबाट बनेको बन्दुकको हो या अन्य भन्ने अनुसन्धानमा रहेको उनको भनाइ छ । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ भने घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि सोधपुछ तथा घटनासँग सम्बन्धित प्रमाण संकलन भइरहेको प्रहरीको भनाइ छ ।