काठमाडाैं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई तुरुन्त रिहा गर्न उनको सचिवालयले माग गरेको छ । महाभियानका संयोजक प्रसाईलाई नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले पक्राउ गरेपछि सचिवालयले विज्ञप्ति जारी गर्दै रिहाइको माग गरेको हो ।
रिहाइ नगरिए सशक्त आन्दोलनमा उत्रिने र त्यसको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने सचिवालयले चेतावनी दिएको छ ।
प्रसाईँलाई शुक्रबार दिउँसो ब्यूरोको टोलीले पक्राउ गरेको थियो । प्रसाईंले शुक्रबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोमा उनले नेपाललाई विदेशी सेनाको अखडा बनाउन लागिएको दाबी गरेका छन् । स्थानीय प्रशासनले अनुमति नदिए पनि वीरगञ्जमा कार्यक्रम गर्न जान लागेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
निर्वाचन आयोगको पत्रका आधारमा उनलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाऊ महाअभियानका संयोजक समेत रहेका प्रसाईं यसअघि यही माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईंलाई हाजिरी जमानीमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएपछि उनी हिरासत मुक्त भएका थिए ।
