काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा चिपको सट्टा क्यूआर कोड प्रयोग गरिएको विषयमा उठेका प्रश्नकाबीच आधिकारिक प्रष्टीकरण सार्वजनिक गरेको छ।
विगतमा यातायात व्यवस्था विभागले मास प्रिन्टरमार्फत चिप जडित लाइसेन्स छपाइ गर्दै आएको थियो। तर पछिल्ला घटनाक्रमका क्रममा उक्त उपकरणमा क्षति पुगेपछि मर्मत सम्भव नभएको अवस्था सिर्जना भएपछि वैकल्पिक प्रणाली अपनाइएको मन्त्रालयले जनाएको छ।
त्यसपछि विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रसँग सहकार्य गर्दै क्यूआर कोडसहितको लाइसेन्स छपाइका लागि सम्झौता गरेको हो।
सञ्चार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नयाँ लाइसेन्स कार्ड अन्तर्राष्ट्रिय मापदण्डअनुसार उच्च सुरक्षा प्रणालीमा आधारित रहेको दाबी गरिएको छ। चिपयुक्त प्रणालीमा आवश्यक रिडर उपकरणको अभावका कारण व्यवहारिक कठिनाइ देखिएकाले त्यसको विकल्पका रूपमा क्यूआर आधारित प्रविधि अपनाइएको उल्लेख छ।
मन्त्रालयका अनुसार यो प्रणालीको प्रमुख विशेषता अफलाइन प्रमाणीकरण क्षमता हो, जसअन्तर्गत इन्टरनेट नभएको अवस्थामा पनि ट्राफिक प्रहरी वा सम्बन्धित निकायले स्क्यान गरी चालकको विवरण तुरुन्तै प्रमाणित गर्न सक्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, जालसाजी नियन्त्रणका लागि बहुस्तरीय सुरक्षा संरचना अपनाइएको मन्त्रालयले जनाएको छ। कार्डमा साधारण आँखाले देखिने धातुजन्य सुरक्षा मसीदेखि विशेष उपकरणमार्फत मात्र पहिचान गर्न सकिने अदृश्य अल्ट्राभायोलेट तथा इन्फ्रारेड प्रविधि प्रयोग गरिएको छ। साथै, डिजिटल हस्ताक्षर र विशेष इलेक्ट्रो-इंकजस्ता फरेन्सिक स्तरका सुरक्षा तत्वसहित कुल ३९ प्रकारका सुरक्षा विशेषता समावेश गरिएको दाबी गरिएको छ। प्रत्येक कार्डलाई एक अर्काभन्दा फरक बनाइएकाले नक्कल गर्न असम्भव हुने मन्त्रालयको भनाइ छ।
सुरक्षण मुद्रण केन्द्रसँग लाइसेन्स छपाइसम्बन्धी सम्झौता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा गरिएको उल्लेख पनि विज्ञप्तिमा गरिएको छ।
