Lite Nepal

शुक्रबार, बैशाख २५, २०८३

पाँचथर । पाँचथरको यासोक बजार बुधबारदेखि ध्वजापताकाले सिङ्गारेर चिरिच्याट्ट छ । सर्वसाधारणहरू साना ठुला समूह बनाएर ‘धान नाच’ नाचिरहेका छन् । धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले यासोकलाई गुञ्जायमान बनाएको छ । फुटबल, ब्याडमिन्टन र चेस प्रतियोगिता सञ्चालन भइरहेका छन् । ‘मिनी’ मेलामा बालबालिका रमाइरहेका छन् ।

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा बुधबारदेखि त्रिसाली मेला सुरु भएको छ । जिल्लाकै पुरानोमध्येको एक यासोक बजारमा हरेक तीन वर्षमा त्रिसाली मेला लाग्ने गर्दछ । तीन वर्षमा लाग्ने भएकाले यो मेलालाई त्रिसाली भन्ने गरिएको हो ।

त्रिसाली पूजा तथा मेलामा विशेषतः यहाँका दुई वटा माङहिम (पवित्रस्थल) कुम्मायक र कुस्सायकमा पूजा अर्चना गरिन्छ । बुधबार त्रिसाली पूजाको मुख्य दिन यहाँ देश विदेशबाट आएका हजारौँ भक्तजनले पूजा अर्चना गरे । यहाँ सबै समुदायका मानिसले पूजा गर्ने गर्छन् । लिम्बू समुदायले आस्था गर्ने युमा माङले अन्तिम पटक कुम्मायकमा साक्षात् दर्शन दिएको जनविश्वास रहेको स्थानीय लालबहादुर सम्बाहाम्फे बताउँछन् ।

कुम्मायक, कुस्सायक क्षेत्र विकास संस्थाका सचिव सम्बाहाम्फेका अनुसार त्रिसाली मेलालाई ‘तङसुम तङनाम’ समेत भन्ने गरिन्छ । लिम्बू भाषामा तङ भनेको वर्ष र सुम भनेको तीन भन्ने हुन्छ । नवौँ शताब्दीका राजा उवाहाङले इलामको चेम्फोजोङमा राजधानी बनाइ राज्य विस्तार गरेको किम्बदन्ती छ । राजा उवाहाङले यहाँ युमा माङसँग शक्ति मागेको र राज्य विस्तार गर्न सफल भएपछि पुनः फर्केर आइ परेवा उडाएर उत्सव मनाएको जनश्रुति छ । यसैका आधारमा यहाँ मेला लाग्न थालेको र उवाहाङकै छोरा माबोहाङले अन्तिम पटक युमा माङको दर्शन पाएको पनि जनश्रुति छ ।

सो मेला आज (शुक्रबार) सम्म चल्नेछ । यस वर्षको मेलामा नेपालका विभिन्न जिल्लासहित भारत, म्यानमार, भुटान, बेलायतलगायत देशबाट मेला भर्न आएको मेला मूल आयोजक समितिका अध्यक्ष देवेन्द्रकुमार लावतीले जानकारी दिए ।

कुम्मायक गाउँपालिका स्थापना हुनु पूर्व यहाँका यासोक, रानीगाउँ र स्याबरुम्बाका भद्रभलाद्मी (तुम्याहाङ) भेला भई मूल आयोजक समिति र पूजाको साइत जुराउने चलन थियो । गाउँपालिका स्थापनापछि भने गाउँपालिकाले पूजा तथा मेला सञ्चालनका लागि सहजीकरण गर्दै आएको कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा