विराटनगर । मोरङको जहदा स्थित राम जानकी आधारभूत विद्यालयमा आयोजित आँखाको निःशुल्क स्वास्थ्य शिविरमा एक सय २५ जनाले सेवा लिएका छन् ।
विराटनगर – १५ मा रहेको रानी आँखा अस्पतालको आयोजना तथा राम जानकी आधारभूत विद्यालयको व्यवस्थापनमा शुक्रबार सम्पन्न एक दिने शिविरमा स्थानीयको आँखा परीक्षण गरिएको अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तोलाले जानकारी दिइन् ।
जहदा गाउँपालिका ३ क्षेत्रका नागरिकले उक्त शिविरबाट प्रत्यक्ष लाभ लिएका थिए । साथै परीक्षणका क्रममा अप्रेसन नै गर्नुपर्ने बिरामीलाई अस्पतालमा ५० प्रतिशत छुटको पनि व्यवस्था गरेको अस्पतालले जनाएको छ ।

शिविर बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन भएको थियो । रानी आँखा अस्पतालले विभिन्न समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यसबाट हालसम्म हजारौं नागरिकले लाभ लिएका छन् ।
