Lite Nepal

शुक्रबार, आषाढ १२, २०८३

टोकियो । मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रम माथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका प्रमुखले बताएका छन् । इरानले आणविक हतियार विकास नगरेको सुनिश्चित गर्न बलियो प्रमाणीकरण प्रणाली तत्काल लागू गर्नुपर्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले शुक्रबार जापानमा पत्रकारहरूसँग कुरा गर्दै इरानको आणविक कार्यक्रम माथि प्रभावकारी र विश्वसनीय अनुगमन आवश्यक रहेको बताए । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भइरहेको व्यापक वार्तामा तेहरानको आणविक कार्यक्रम प्रमुख विवादका विषय मध्ये एक बनेको छ ।

ग्रोसीले हालै भएको अमेरिका–इरान सहमतिको मुख्य उद्देश्य इरानले आणविक हतियार विकास नगरेको सुनिश्चित गर्नु रहेको बताए । उनका अनुसार इरान सरकारले आफूहरू आणविक हतियार निर्माण गर्ने पक्षमा नरहेको स्पष्ट रूपमा जनाएको छ ।

तर केवल राजनीतिक प्रतिबद्धता पर्याप्त नहुने भन्दै उनले प्रभावकारी प्रमाणीकरण संयन्त्र आवश्यक रहेको उल्लेख गरेका छन् । उनका अनुसार इरानको आणविक गतिविधि माथि कडा र विश्वसनीय निगरानी सकेसम्म छिटो सुरु हुनुपर्छ ।

ग्रोसीले इरानको युरेनियम भण्डारण सम्बन्धी विषयमा अमेरिका र इरानबीच प्रारम्भिक समझदारी बनेपछि आइएइएले तेहरानसँग पुनः संवाद सुरु गरेको जानकारी दिए । उनले प्रारम्भिक स्तरका छलफल भइसकेको र निकट भविष्यमै प्राविधिक काम अघि बढ्ने अपेक्षा गरिएको बताए ।

इरानले लामो समयदेखि आफूले आणविक बम निर्माण गर्ने प्रयास नगरेको दाबी गर्दै आएको छ । तेहरानले नागरिक प्रयोजनका लागि शान्तिपूर्ण आणविक कार्यक्रम सञ्चालन गर्ने आफ्नो अधिकार कायम रहेको अडान पनि दोहोर्‍याउँदै आएको छ ।

गत वर्ष इजरायलसँग भएको १२ दिने युद्धपछि इरानी संसद्ले पारित गरेको कानुन अनुसार तेहरानले गत जुलाईदेखि आइएइएसँगको सहकार्य स्थगित गरेको थियो । त्यसयता अन्तर्राष्ट्रिय निरीक्षण र अनुगमनको विषय थप संवेदनशील बनेको छ ।

अमेरिका र इरानबीच नयाँ सहमतिका लागि वार्ता जारी रहेका बेला इरानको आणविक कार्यक्रम माथिको निगरानी र पारदर्शितालाई लिएर अन्तर्राष्ट्रिय चासो अझ बढेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं