विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्ने बताएका छन् ।
धान दिवस तथा असार १५ को शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले पछिल्लो समयमा खेतीयोग्य जमिन बाझो हुनुले कृषि क्षेत्रमा गम्भीर असर परेको उल्लेख गरे । नेपालीहरूको मौलिक पर्वका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले धान रोपाइँ, असारे भाका, दही चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको बताए । उनले पछिल्लो समय युवाको वैदेशिक पलायन र बसाइँसराइले खेतीयोग्य जमिन बाँझो हुन थालेकोमा चिन्ता व्यक्त गर्दै कृषि उत्पादनमा चुनौती थपिएको उल्लेख गरे । आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्नेमा उनको जोड छ ।
कोशी प्रदेश सरकारले कृषि उत्पादन, बजारीकरण, कृषिमा नवप्रवर्तन, व्यावसायिक खेती, उत्पादनमुखी योजना, प्राविधिक सहयोग तथा कृषकमैत्री कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको मुख्यमन्त्री कार्कीले बताए ।
राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण कृषकहरूको श्रम र योगदानप्रति सम्मान व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र समृद्ध कोशी प्रदेश निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।