विराटनगर । कोशी प्रदेश सभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका जिज्ञासा र प्रश्नमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएका छन्।
आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले बजेट सार्वजनिक भएपछि त्यसबारे विभिन्न टिप्पणी र आलोचना आउनु लोकतान्त्रिक अभ्यासको स्वाभाविक पक्ष भएको बताए।
उनले चालु आर्थिक वर्षको बजेट प्रदेशवासीको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै कार्यान्वयनअघि देखिएका कमजोरी तथा त्रुटि आवश्यक परिमार्जनमार्फत सच्याइने प्रतिबद्धता जनाए।
भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवारले उपलब्ध स्रोत र साधनको तुलनामा विकास आयोजनाको संख्या बढाउने प्रवृत्तिले कार्यान्वयनमा चुनौती थपिएको उल्लेख गरे।
मन्त्रालयले पूर्वाधार आयोजनाको छनोट गर्दा प्राथमिकताका आधारमा झोलुङ्गे पुल तथा सडक योजनालाई समेटेको उनले जानकारी दिए।
त्यसैगरी पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठक तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्न र सुझावले मन्त्रालयलाई थप उत्तरदायी र जवाफदेही ढंगले काम गर्न प्रेरित गरेको बताएका छन्।