Lite Nepal

शुक्रबार, साउन ०१, २०८३

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली नजिकै नोएडामा रहेको एक पाँच तले आवासीय भवनमा बुधबार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

नोएडाको सेक्टर ६६ मा अवस्थित उक्त भवनको भुइँतलामा रहेको पार्किङ क्षेत्रमा इलेक्ट्रिक स्कुटर चार्ज गर्ने क्रममा सल्किएको आगोले भीषण रूप लिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

पार्किङमा रहेका अन्य पेट्रोलजन्य दुई पाङ्ग्रे सवारी साधनमा आगो चाँडै सल्किएपछि स्थिति थप भयावह बनेको थियो । अधिकारीहरूका अनुसार, आगलागीका कारण भवनको सिँढी र कोरिडोरमा बाक्लो धुवाँ फैलिएपछि माथिल्लो तलामा रहेका बासिन्दाहरू बाहिर निस्कन नसकी भित्रै थुनिएका थिए ।

उद्धार कार्यमा आगोको ज्वालाभन्दा पनि तीव्र गतिमा फैलिएको बाक्लो धुवाँ मुख्य चुनौती बनेको बताइएको छ । प्रहरी र दमकलको टोलीले भवनबाट १०० भन्दा बढी व्यक्तिको सकुशल उद्धार गरेको छ । सातवटा दमकल, हाइड्रोलिक प्लेटफर्म र विशेष उद्धार सवारीसाधनसहित घटनास्थल पुगेको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

उक्त भवनमा करिब ५० परिवार बसोबास गर्दै आएका थिए । धुवाँका कारण श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका दुई जनालाई तत्काल जिल्ला अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले भवनका लीजधनी र सञ्चालकविरुद्ध लापरबाहीको अभियोगमा मुद्दा दर्ता गरी उनीहरूलाई नियन्त्रणमा लिएको छ । घटनाको यथार्थ कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भारतमा भवन निर्माण तथा सञ्चालनका क्रममा अग्नि सुरक्षा मापदण्डको बेवास्ता गर्ने र प्रज्वलनशील पदार्थको असुरक्षित भण्डारण गर्ने प्रवृत्तिले गर्दा आगलागीका घटनाहरू बारम्बार हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं