Lite Nepal

शुक्रबार, साउन ०१, २०८३

काठमाडौं । भारतले रेल यातायात क्षेत्रमा स्वच्छ ऊर्जा प्रविधिको प्रयोगलाई विस्तार गर्दै पहिलो हाइड्रोजनबाट सञ्चालन हुने रेल सेवाको सुरुवात गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनबाट उक्त रेलको उद्घाटन गरेका हुन् ।

नयाँ हाइड्रोजन रेल जिन्द-सोनिपत रेलमार्गमा सञ्चालन गरिनेछ । वातावरणमैत्री यातायात प्रणाली विकास गर्ने भारतको प्रयासअन्तर्गत यसलाई रेल क्षेत्रमा प्रविधिगत उपलब्धिका रूपमा लिइएको छ ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री मोदीले पछिल्लो अवधिमा भारतीय रेल सेवामा व्यापक परिवर्तन आएको उल्लेख गर्दै पूर्वाधार विकास र आधुनिकीकरणका कामलाई प्राथमिकता दिइएको बताए ।

यस अवसरमा उनले १२ हजार ४७० करोड रुपैयाँभन्दा बढी लागतका राष्ट्रिय राजमार्गसम्बन्धी आयोजनाको शिलान्यास गर्नुका साथै १५७ किलोमिटर लामो दिल्ली-अमृतसर-कटरा एक्सप्रेसवेको उद्घाटन गरेका थिए । उक्त एक्सप्रेसवे सञ्चालनमा आएपछि दिल्लीदेखि कटरा पुग्ने समय करिब १४ घण्टाबाट घटेर ६ घण्टासम्म पुग्ने अपेक्षा गरिएको छ ।

रेल मन्त्रालयका अनुसार हाइड्रोजन प्रविधिमा आधारित यो रेलले जिन्द-सोनिपत खण्डमा करिब ९० किलोमिटर दूरी तय गर्नेछ । ३ हजार २०० हर्सपावर क्षमताको यो रेल विश्वका शक्तिशाली हाइड्रोजन रेलमध्ये एक रहेको दाबी गरिएको छ ।

रेलमन्त्री अश्विनी वैष्णवले हाइड्रोजन रेल सञ्चालनलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका छन् । स्वदेशी प्रविधिमा आधारित यस रेलको डिजाइन गति प्रतिघण्टा ११० किलोमिटर रहेको छ भने एकपटकमा करिब २ हजार ६०० यात्रु बोक्न सक्ने क्षमता रहेको जनाइएको छ ।

हाइड्रोजन फ्युल सेल प्रविधिबाट सञ्चालन हुने भएकाले यसबाट कार्बन उत्सर्जन नगर्ने दाबी गरिएको छ । भारतीय रेल्वेले आगामी दिनमा अन्य मार्गमा समेत यस्तै प्रविधि विस्तार गर्ने तयारी अघि बढाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं