नयाँ दिल्ली । प्रश्नपत्र चुहावट प्रकरणमा भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि यतिखेर जन्तर मन्तरमा भारतीय विधार्थीहरूले विजयोत्सव मनाइरहेका छन् ।
शिक्षामन्त्री प्रधानले सामाजिक सञ्जालमार्फत आफूले राजिनामा दिएको र प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजिनामा पत्र बुझाएको जानकारी गराएलगत्तै जन्तर मन्तर, नयाँ दिल्लीमा धर्नामा बसेका विद्यार्थीहरूले खुसीयाली मनाएका हुन् ।
मन्त्री प्रधानको राजीनामा आएपछि कक्रोच जनता पार्टी (सीजेपी)का अभिजित दीपकेको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ ।
‘संसार झुक्छ, मात्र त्यसलाई झुकाउन सक्ने क्षमता भएको व्यक्तिको आवश्यकता पर्छ,’ दीपकेले भने, ‘पहिले भनिन्थ्यो कि यो सरकारको पालामा राजीनामा हुँदैन तैपनि राजीनामा भयो । मानिसहरू म कहिलेसम्म अडिग रहन्छु भनेर सोध्थे, ३६ दिनसम्म मलाई हरेक दिन सोधिन्थ्यो कि राजीनामा नहुने हो कि भनेर तर सरकार झुक्यो । उनीहरू भन्थे कि क्रान्ति हुने छैन, तैपनि क्रान्ति भयो नै ।’
यतिखेर राजधानी शहर नयाँ दिल्लीको जन्तर मन्तरमा दिपके र उनका समर्थकहरू शिक्षामन्त्री प्रधानको राजीनामाको खुसी मनाउँदै छन् । विरोध प्रदर्शन स्थलमा हर्षोल्लासपूर्ण वातावरण रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दीपकेले मन्त्रीको राजीनामापछि अझै दुई माग कायमै रहेको जानकारी पनि गराएका छन् ।
‘यो लोकतन्त्र हो, उनले राजीनामा दिइसकेका छन् तर हाम्रा अझै दुईवटा मागहरू छन् । हामी यसै फर्कने छैनौँ ।’ उनले अगाडी भने, ‘धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । तर आत्महत्या गरेका बालबालिकाका परिवारले एक करोड रुपैयाँ क्षतिपूर्ति पाउनुपर्छ । उनीहरूले यो पाउनैपर्छ, ती सबै परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति । र दोस्रो, २० तारिखका दिन जसरी ती गुण्डा शैलीका प्रहरीहरूले व्यवहार गरे, त्यसका लागि ती प्रहरी अधिकारीहरूमाथि कारबाही हुनैपर्छ, याद राख्नुहोस्, क्रकोचसँग नजिस्किनु होस् ।’