काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र र भ्रष्टाचारमुक्त शासन प्रणालीको माग गर्दै सडक आन्दोलनको तयारी थालेको जनाएको छ।
पार्टीको कार्यसम्पादन समितिको आइतबार राजधानीमा बसेको बैठकले भदौको अन्तिम सातादेखि आन्दोलन सुरु गर्ने तयारी गरेको अध्यक्ष डा. तारानाथ लुइँटेलले जानकारी दिए। उनका अनुसार आन्दोलनसम्बन्धी औपचारिक निर्णय भने पार्टी केन्द्रीय समितिको बैठकबाट गरिने छ।
बैठकमा संवैधानिक राजसंस्था पुन:स्थापना, वैदिक सनातन हिन्दु राष्ट्रको अवधारणा, स्वायत्त शासन प्रणाली तथा भ्रष्टाचार नियन्त्रणलगायतका विषयमा छलफल भएको अध्यक्ष लुइँटेलले बताए।
अध्यक्ष लुइँटेलले प्रमुख राजनीतिक दलहरू नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा तथा प्रधानमन्त्री वालेन्द्र साह नेतृत्वको सरकारमाथि समेत आलोचना गर्दै उनीहरूले बाह्य प्रभावमा आधारित नीति अवलम्बन गरिरहेको आरोप लगाए।
उनले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रयास प्रभावकारी बन्न नसकेको दाबी गरे। भ्रष्टाचार नियन्त्रण, संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, धार्मिक स्वतन्त्रता तथा सर्वधर्म समभावका मुद्दालाई लिएर आन्दोलन अघि बढाउने उनको भनाइ छ।
अध्यक्ष लुइँटेलले हालको वर्षायाम समाप्त भएपछि पार्टी सडक संघर्षमा जाने तयारीमा रहेको जानकारी दिएका छन्।