काठमाडौं । सामाजिक सञ्जालमा लाइभ स्ट्रिम भइरहेकै बेला अचानक मोटरसाइकलमा आएका दुई व्यक्तिहरूले २३ वर्षीय एक चर्चित इन्फ्लुएन्सरको गोली हानी हत्या गरेका छन् ।
मेक्सिकन सामाजिक सञ्जाल इन्फ्लुएन्सर सेसर गास्टेलुमको मंगलबार गोली हानी हत्या भएको हो ।
उनी आफ्ना साथीहरूसँग एउटा फास्टफुड रेस्टुरेन्टबाहिर लाइभ स्ट्रिमिङ गरिरहेको बेला उक्त आक्रमण भएको हो ।
हत्या भइरहँदा उनका फलोअर्सहरूले त्यसलाई प्रत्यक्ष हेरिरहेका थिए ।
अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
रोयटर्सको रिपोर्ट अनुसार करिब ६ लाख फलोअर्स भएका सेसर टिकटकमा आफ्ना कमेडी भिडियोहरूका लागि परिचित थिए ।
उनी आफ्ना साथीहरूसँग एउटा फास्टफुड रेस्टुरेन्टबाहिर लाइभ (प्रत्यक्ष प्रसारण)मा थिए, त्यति नै बेला हेल्मेट लगाएका दुई व्यक्ति मोटरसाइकलमा त्यहाँ आइपुगे । लाइभ स्ट्रिम भिडियोमा मोटरसाइकलमा सवार एक व्यक्तिले उनीमाथि सीधै गोली चलाएको देखिएको छ ।
मेक्सिकोको सिनालोआ राज्यका एक सुरक्षा अधिकारीले गास्टेलुमको मृत्युको पुष्टि गरेका छन् । ती अधिकारीले उक्त घटनाको अनुसन्धान गर्न एउटा ठूलो सुरक्षा कारबाही चलिरहेको बताएका छन् ।