भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ । केन्द्र निर्माणका लागि गाउँपालिका र नेपालस्थित भारतीय दूतावासबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा गाउँपालिका अध्यक्ष सरोज बस्नेत र भारतीय दूतावासका विकास साझेदारी काउन्सिलर अविनाशकुमार सिंहले हस्ताक्षर गरेका हुन् ।
केन्द्र निर्माणको कुल लागत रु नौ करोड ८८ लाख ६७ हजार ७८५ रहेको छ । परियोजनाको कुल लागतको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुने तथा बाँकी पाँच प्रतिशत रकम र मूल्य अभिवृद्धि कर ९भ्याट० गाउँपालिकाले व्यहोर्ने सम्झौतामा उल्लेख छ । समझदारीअनुसार केन्द्र निर्माणको अवधि १५ महिना तोकिएको गाउँपालिका अध्यक्ष बस्नेतले जानकारी दिए ।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार निर्माण हुने केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन, कृषि उपज सङ्कलनस्थल, ग्रेडिङ तथा वर्गीकरण र प्रशोधनलगायतका सुविधा रहनेछन् ।
अध्यक्ष बस्नेतले लामो समयदेखिको पहल, निरन्तर समन्वय र प्रयासपछि कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माणको योजना कार्यान्वयनको चरणमा पुगेको बताए । केन्द्रलाई गाउँपालिकाको गौरवको योजनाका रूपमा अघि बढाइएको उल्लेख गर्दै उनले यसबाट स्थानीय किसानले आफ्ना उत्पादनको उचित बजार पाउने विश्वास व्यक्त गरे ।
“कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माणका लागि भारतीय दूतावाससँग समझदारीपत्रमा हस्ताक्षर गरेका छौँ,” अध्यक्ष बस्नेतले भने, “यो हाम्रो गाउँपालिकाको गौरवको योजना पनि हो ।”
कृषि उत्पादन बढ्दै गए पनि व्यवस्थित सङ्कलन, भण्डारण र बजार व्यवस्थापनको पर्याप्त सुविधा नहुँदा स्थानीय किसानले समस्या भोग्दै आएका छन् । केन्द्र निर्माणपछि कृषि उपजको व्यवस्थापन तथा बजारीकरणमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।