अफगानिस्तान । अफगानिस्तानस् राजधानी काबुलको पश्चिमी क्षेत्रमा रहेको एक निजी विद्यालयबाहिर भएको बम विस्फोटमा परी कैयौँ विद्यार्थी गम्भीर घाइते भएका छन्।
काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले सोमबार राति घटनाको पुष्टि गर्दै सुरक्षा टोली घटनास्थलमा पुगिसकेको र विस्फोटबारे विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार विद्यालय बिदा भएर विद्यार्थीहरू घर फर्किने क्रममा विस्फोट भएको थियो। घाइते हुनेमा अधिकांश छात्रा रहेको बताइएको छ। एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटमा घाइते भएका करिब ३० जनालाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।
घटनाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन। प्रहरीले विस्फोटको कारण र घटनामा संलग्न व्यक्तिबारे अनुसन्धान जारी राखेको जनाएको छ।