‘ए दिदी, दाउरा राख्ने ?’
थाकेको स्वरमा बास्दै गरेको भालेको आवाजलाई समेत छिचोल्दै आएको त्यो प्रश्न । झिसमिसे उज्यालोमा पसलकी साहुनीले ढोकाबाट बाहिर निस्केर हेर्दा दाउरेनी जेठी दिदी आइपुगेकी रहिछन् ।
शरदको बिहान पनि कस्तो हुनु रात अझै नसकिएजस्तो, उज्यालो आउन हतार नगरेजस्तो । चिसो सिरेटो चलिरहेको छ । तर, दाउराको भारी बोकेर आएकी जेठीको निधारमा भने खलखली पसिना ओभाउन सकेको छैन । मक्किएको सारीको फेरले पसिना पुछ्दै उनी पसलको छेउमा भारी बिसाउँछिन् र लामो सुस्केरा हाल्दै भन्छिन् ।
खै, पानी…
साहुनी (मेरी आमा) ले पानीको गिलास दिँदै, लौ जेठी पानी हाजिर !
हाँस्दै फेरी सोध्नुभयो ,अनि निन्द्रा लाग्दैन ? मुखैमा पुर्याएको पानीको गिलास केही बेर रोकेर जेठी गफिन थाल्थिन्, निन्द्राले दसैँ रोकिँदैन के गर्नु ? आमा पनि के कम ? हो नि, चाडबाडले छपक्कै छोप्यो है…
प्राय त्यो संवाद सुन्दा–सुन्दै हुर्किएको बाल्यकाल आज अचानक सम्झनामा फर्किएर आएको छ । आजकल प्राय सामाजिक सञ्जालमा एलपी ग्यास लिन लाइन लागेका सेवाग्राहीहरूको लामो लस्कर देख्छु ।
पालो कुरिरहेका मानिसहरूका फोटो र भिडियो स्क्रिनमा आइरहेका छन् । दृश्य हिजोआजको थियो, तर मन भने धेरै पछाडिको समयतिर फर्कियो । त्यो समय जब संखुवासभाको सदरमुकाममा ग्यास पुग्नु ठुलो कुरा थियो ।
सडक नै राम्ररी नपुगेको ठाउँमा ग्यास कहाँबाट पुग्नु ? नुन, तेल, चामलसम्म बोकेर खानुपर्ने सदरमुकामवासीका लागि खाना पकाउने मुख्य सहारा दाउरा नै थियो । बजारमा दाउरा बेच्न आउने ती दाउरेनी दिदीहरूका भारीसँगै कति घरका चुल्हा बल्थे, कति परिवारका भान्सा चल्थे, सायद उनीहरू स्वयंलाई पनि हिसाब थिएन ।
आजका बच्चाहरूलाई दाउरा बेच्ने दिदीको कथा सुनाउँदा उनीहरूलाई कुनै पुरानो किस्सा सुनाएजस्तो लाग्छ होला । दाउरा पनि बिक्री हुन्छ र ? भनेर अचम्म मान्लान् । तर हाम्रा लागि त्यो कुनै किस्सा थिएन । त्यो त बिहानको एउटा नियमित दृश्य थियो ।
बिहानदेखि दिउँसोसम्म ग्यासका लागि लागेको लामो लस्कर देख्दा एक छिन त लाग्यो समय फेरि उल्टो दिशामा हिँडेको भए कस्तो हुन्थ्यो होला ? फेरि ती जेठी दिदीहरू दाउराको भारी बोकेर आइदिए हुन्थ्यो कि !
झिसमिसेमा भारी बोकेर आइपुग्ने जेठी दिदी, आमासँग हुने छोटो गफ, दाउरा किन्न आउने छिमेकी र घरको चुल्होमा बलिरहेको आगो यी सबै मिलेर हाम्रो बाल्यकालको एउटा सिंगो संसार बनेको थियो ।
त्यही दाउरामा पाकेको भातको स्वाद पनि कस्तो थियो भने, पछि विराटनगर झर्दा स्टोभमा पकाएको खाना खान नसकेर म खाँदबारी नै फर्किएको सम्झना पनि छ ।
अहिले सम्झँदा आफैँलाई हाँसो लाग्छ । तर, त्यो बेला चुल्होको धुवाँ, दाउराको आगो र आमाको हातको खाना नै घरजस्तो लाग्थ्यो ।
चुल्होमा आगो बलिरहेको हुन्थ्यो । आमाले दाउरा मिलाउँदै भात पकाइरहनुभएको हुन्थ्यो । भान्साभरि धुवाँ हुन्थ्यो । आँखा पिरो हुन्थे । तर त्यही धुवाँभित्र आमाको माया मिसिएको हुन्थ्यो ।
भात पाकेपछि आमाको आवाज आउँथ्यो, ‘लौ, खाना खान आऊ । स्कुल जान ढिला हुन्छ ।’
त्यो तातो भातमा भोक मेट्ने स्वाद मात्रै थिएन, आमाको हातको न्यानोपन थियो । चुल्होको आगोले केवल भान्सा मात्रै तताउँदैनथ्यो, घरभित्रको आत्मीयता पनि तताउँथ्यो । जाडो महिनामा परिवार एकजुट भएर आगो ताप्दा व्यवहारका कुराले बा–आमाको झगडा सुन्दै हाँस्नुको मिठास बेग्दै थियो ।
समय फेरियो ।
सदरमुकाम बिस्तारै सुविधा सम्पन्न भयो । ग्यास आयो । चुल्हा, स्टोभ हराउँदै गयो । अहिले ग्यास नपाए इन्डक्सनले पनि जुगाड चल्छ । दाउराको भारी बोकेर बिहानै बजार उक्लिने जेठी दिदीहरू पनि देखिन छाडे ।
आज हामीसँग सुविधा छन्, समय बचाउने साधन, सफा भान्सा, ग्यास छ, इन्डक्सन छ, प्रविधि छ । तर कहिलेकाहीँ मनले सुविधाभन्दा परको कुनै पुरानो बिहान खोज्छ ।
विकास आयो, सुविधा आयो । जीवन धेरै सजिलो भयो । तर कहिलेकाहीँ विकाससँगै केही पुराना सम्बन्ध, केही पेसा र केही सम्झनाहरू पनि हराउँदा रहेछन् ।
ती दाउरेनी दिदीहरूको पेसा पनि त बिस्तारै खोसियो । उनीहरूका छोराछोरी हुर्किए होलान् । समयसँगै उनीहरूले नयाँ पेसा अपनाए होलान् । आधुनिकताको बाटोमा उनीहरूका घर पनि अघि बढे होलान् । तर मनमा एउटा प्रश्न अझै उठिरहन्छ, दाउरा बेच्ने पेसा हराएपछि जेठी दिदीहरूले घरको गर्जो चलाउन के गरिन् होला ?
जुन भारीले कुनै समय उनीहरूको घरको चुल्हो बाल्थ्यो, त्यही भारी बोक्न छाडेपछि उनीहरूको जीवन कसरी चल्यो होला ?
बिहानदेखि दिउँसोसम्म ग्यासका लागि लागेको लामो लस्कर देख्दा एक छिन त लाग्यो समय फेरि उल्टो दिशामा हिँडेको भए कस्तो हुन्थ्यो होला ? फेरि ती जेठी दिदीहरू दाउराको भारी बोकेर आइदिए हुन्थ्यो कि !
उसो त अब मेरी आमाको पसलले पनि विश्राम लिइसकेको छ, तर पनि उही कसैको पसलअगाडि उभिएर फेरि त्यही प्रश्न सोधिदिनहुन्थ्यो की ? मेरी आमाले जस्तै, लौ जेठी, आज कति भारी ल्यायौ ? भन्ने प्रश्नहरू तेर्सिन्थ्यो की ?
जेठी उही थकित मुस्कानसहित भन्थिन् होला,’दुई भारी छ दिदी, दसैँ लाग्यो नि…’
कति साधारण थियो त्यो समय । कति अभाव थियो , तर ती अभावभित्र पनि जीवन कति भरिपूर्ण थियो ।
आज हामीसँग सुविधा छन्, समय बचाउने साधन, सफा भान्सा, ग्यास छ, इन्डक्सन छ, प्रविधि छ । तर कहिलेकाहीँ मनले सुविधाभन्दा परको कुनै पुरानो बिहान खोज्छ ।
झिसमिसे उज्यालो ।
चिसो सिरेटो ।
दाउराको भारी ।
मक्किएको सारीको फेरले पसिना पुछ्दै गरेकी जेठी दिदी र आमाको हातको तातो भात । सायद त्यसैले होला विगत सधैँ सुन्दर भएर होइन, यसमा हामी आफैँ थियौँ भनेर प्रिय लाग्दो रहेछ ।
दाउरा अब धेरै घरका चुल्हामा बल्दैन । जेठी दिदीहरू पनि ती पुराना बाटामा देखिँदैनन् । आमाको त्यो भान्सा पनि सम्झनामै सीमित भएको छ ।