सुजता लिम्बू

शनिबार, भाद्र १३, २०८३

पोहोर साल लागेको चोट
अझै निको भएको थिएन,
फेरि गहिरो चोट दिएर गयो बाढी ।

भेलसँगै घर मात्रै बगेन,
सपनाहरू बगे,
बाँकी ऋण बग्यो,
उठाउनुपर्ने धन बग्यो ।

त्यति मात्रै होइन,
पोहोरको बाढीले बगाएका आफन्तको
सम्झनाले पिरोलेको मन पनि बग्यो,

बिहान कोरी बाटी गरेर
स्कुल पठाएका नानीहरू
फर्किएर आउँदा आमा–बा भेटेनन्,
कतिको स्कुलसँगै
सपनाहरू बगे,
किताबहरू बगे,
भोलिको उज्यालो बग्यो ।

आगोमा उम्लिरहेको भातसँगै
मान्छे बग्यो,
ग्याससँगै लास बग्यो ।
तर,
यहाँ लास तैरिहरयो
बगिरह्यो
मान्छेलाई लासको उद्धार होइन,
ग्यास चाहिएको रहेछ

खाई नखाई जोडेको
एक आना सुन थियो,
त्यो पनि सँगै बग्यो ।

बग्दै–बग्दै आएको नारायणीले
अब तेरो ठेगाना यही हो है
भन्दै किनार लगाइदिँदा,
त्यही सुन पनि
लास लुछ्ने हातहरूको
निसाना बन्यो ।

हुन त,
जिउँदो हुँदा बाँच्न नदिने समाजले
मरेपछि पनि
मर्न नदिने रहेछ ।

यहाँ बाढीले मात्रै
घर बगाएको होइन,
मान्छेको सपना बगाएको छ,
मेहनत बगाएको छ,
सम्बन्ध बगाएको छ,
आशा बगाएको छ।

भोटेकाशी बगिरहेछ,
पानी मात्रै होइन,
विवशता पनि ,
मौनता बगिरहेछ,

अनि
जिउँदोहरुको व्यवार देखेर
लासले सोच्दो हो,
बाढीले आखिर
के–के बगाउँछ ?
घर ?
धन ?
सपना ?

कि ?

मान्छेभित्र बाँकी रहेको
मान्छेपन पनि ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं