विराटनगर । बाढी होस् वा भूकम्प, विपद् आएपछि प्रभावितका लागि खाना, पानी, चामल, दाल, भुजा, चिउरा र अन्य राहत सामग्री तत्काल पु¥याउने प्रयास हुन्छ ।
तर महिनावारी हुने महिलाका लागि अत्यावश्यक महिनावारी प्याड भने राहत सामग्रीको सूचीमै प्राथमिकतामा नपर्ने गरेको सरोकारवालाहरू बताउँछन् ।

मदन पुरस्कार विजेता तथा मर्यादित महिनावारी अभियानकर्ता राधा पौडेलका अनुसार विपद् व्यवस्थापनमा लैङ्गिक समानताको नीति भए पनि महिनावारी हुने व्यक्तिका विशेष आवश्यकता अझै पर्याप्त रूपमा सम्बोधन हुन सकेका छैनन् ।
त्यसो त बाढीको विपद् होस् या भूकम्पको, राहत पहिले पुग्छ,चामल, दाल,भुजा र चिउरा तर कहिल्यै महिनावारी प्याडले स्थान पाउँदैन किनभने महिनावारीलाई सामान्य विषयका रूपमा लिइन्छ यसको पनि आत्मसम्मान र अधिकारका विषय छन् भन्ने हेक्का नै रहँदैन,’ पौडेल भन्छिन्।
उनका अनुसार महिनावारी सुरु हुँदै गरेका किशोरी, नियमित महिनावारी भइरहेका व्यक्ति, गर्भवती तथा महिनावारी सुक्दै गरेका व्यक्तिका आवश्यकता फरक हुन्छन्। तर विपद् व्यवस्थापनका योजना, तथ्याङ्क संकलन र राहत वितरणमा यी अवस्थालाई पर्याप्त रूपमा पहिचान गर्ने अभ्यास अझै कमजोर छ ।
पौडेलका अनुसार मर्यादित महिनावारी सबै महिलाको आधारभूत आवश्यकताको विषय हो । त्यसैले विपद् व्यवस्थापनको योजना निर्माणदेखि तथ्याङ्क संकलन, राहत वितरण र बजेट विनियोजनसम्मका हरेक प्रक्रियामा महिनावारी हुने व्यक्तिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आवश्यक छ ।
उनी महिनावारी हुने र नहुने दुवै समूहलाई विपद् व्यवस्थापनका सबै प्रक्रियामा सहभागी गराउनुपर्ने बताउँछिन्। विशेषगरी वडा तथा पालिका तहबाटै महिनावारी हुने व्यक्तिका आवश्यकता पहिचान गरी त्यसलाई स्थानीय विपद् व्यवस्थापन योजनामा समावेश गर्नुपर्ने उनको जोड छ ।
विपद्का बेला प्याड वितरण मात्रै पर्याप्त नहुने पौडेल बताउँछिन्। पानी, शौचालय, सरसफाइ, गोपनीयता तथा प्रयोग गरिसकेका महिनावारी सामग्रीको सुरक्षित व्यवस्थापनका लागि आवश्यक पूर्वाधारसमेत हुनुपर्ने उनको भनाइ छ । पुनःप्रयोग गर्न मिल्ने सामग्री आवश्यक पर्ने उनको भनाइ छ ।
यस्तै, तरंगिनी फाउन्डेसनकी मोरङ जिल्लाकी फिल्ड अफिसर रुमा रिजाल पनि विपद्का बेला महिनावारी व्यवस्थापनलाई राहतको अभिन्न अंगका रूपमा लिनुपर्ने बताउँछिन्।
‘बाढीमा खाना र पानी नहुँदा बाँच्न गाह्रो हुन्छ भने, महिनावारी हुने महिलाका लागि प्याड नहुँदा सुरक्षित र सम्मानजनक रूपमा
महिनावारी व्यवस्थापन गर्न निकै गाह्रो हुन्छ,’ रिजाल भन्छिन्।
उनका अनुसार राहतको अर्थ केवल ज्यान बचाउनु मात्र होइन, विपद्मा पनि महिलाको स्वास्थ्य, स्वच्छता, मर्यादा र अधिकार सुरक्षित गर्नु हो ।
‘त्यसैले प्याडलाई राहत सामग्रीको सूचीमा नराख्नु महिलाको वास्तविक आवश्यकतालाई नदेख्नु हो,‘ रिजाल भन्छिन्।
प्याडलाई अझै पनि कतिपय अवस्थामा विलासिताको सामग्रीका रूपमा बुझिने गरेको भन्दै रिजालले यस्तो सोच परिवर्तन गर्नुपर्ने बताइन्।
उनका अनुसार महिनावारी हुने व्यक्तिका लागि प्याड विलासिताको सामग्री नभई आधारभूत आवश्यकता हो।
विपद्का बेला विस्थापित भएर अस्थायी शिविर वा सुरक्षित स्थानमा बस्नुपर्ने अवस्थामा महिनावारी व्यवस्थापन झनै चुनौतीपूर्ण बन्ने गर्छ। पर्याप्त पानी, सुरक्षित शौचालय, गोपनीयता र फोहोर व्यवस्थापनको अभावले महिलाको स्वास्थ्यसँगै आत्मसम्मानमा समेत असर पार्न सक्छ।
त्यसैले विपद् आउनुअघि नै स्थानीय तहदेखि राष्ट्रिय तहसम्मका विपद् व्यवस्थापन योजनामा महिनावारीसम्बन्धी आवश्यकतालाई समेट्नुपर्ने सरोकारवालाहरूको जोड छ । राहत सामग्रीको सूचीमा प्याड राख्ने मात्र नभई त्यसको प्रयोग कसरी गर्ने, प्रयोगपछि कसरी व्यवस्थापन गर्ने र पुनःप्रयोग हुने सामग्रीका लागि आवश्यक सुविधा कसरी उपलब्ध गराउने भन्ने विषय पनि योजनामै समेटिनुपर्ने पौडेलको भनाइ छ ।
विपद्का बेला राहत बाँड्दा महिनावारी हुने व्यक्ति छन् कि छैनन् भन्ने प्रश्नलाई पनि राहत व्यवस्थापनको अनिवार्य हिस्साका रूपमा समेट्नुपर्ने उनको जोड छ ।
विपद्मा राहत भन्नाले खाना उपलब्ध गराउनु र ज्यान जोगाउनु मात्र नभई प्रभावित व्यक्तिको स्वास्थ्य, स्वच्छता, मर्यादा र मानवअधिकारको संरक्षण गर्नु पनि रहेको उनीहरूको भनाइ छ।