काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–ए आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि खटिएको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको छ।
तीन दिनदेखि निरन्तर उद्धारमा खटिएको नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण र सुरुङ विज्ञहरूको टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्न प्रयोग हुने सुरुङ फेला पारेको नेपाल विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार उक्त सुरुङबाट उद्धार विज्ञलाई भित्र पठाएर फसेका कर्मचारीको अवस्थाबारे जानकारी लिने तयारी भइरहेको छ। यसअघि उद्धार टोलीले सुरुङभित्र हावा पठाउन पाँचवटा ड्रिल अर्थात् प्वाल बनाएको थियो। ती प्वालमार्फत भित्रको अवस्था बुझ्ने प्रयाससमेत भइरहेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धार कार्य बाढी गएको दुई दिनपछि शुक्रबारदेखि मात्र सुरु गरिएको थियो। पाँच दिनसम्म पनि सुरुङ छिचोल्न नसकिएपछि भित्र फसेका कर्मचारीको अवस्थाबारे चिन्ता बढ्दै गएको थियो।
आयोजनाको जमिनमुनि रहेको विद्युत् गृहमा ओभरहलिङको काम भइरहेको थियो। उक्त काममा करिब ४०–४२ जना उच्च विज्ञसहितको प्राविधिक जनशक्ति संलग्न रहेको र उनीहरू सुरुङभित्र फसेको प्राधिकरणको अनुमान छ।