खाँदबारी । नेवार समुदायको परम्परा गाईजात्रा तथा हिले जात्रा केवल हाँसो र रमाइलोका लागि मात्र नभई समाजको पीडा, विछोड र सत्यलाई अभिव्यक्त गर्ने सांस्कृतिक माध्यमसमेत भएको खाँदबारी यूथ क्लबले जनाएको छ।
भाद्र १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै क्लबले यस्तो दुःखद घडीमा हिले जात्रालाई केवल मनोरञ्जनमा सीमित नगर्न आग्रह गरेको छ।

बाढीका कारण सयौँले ज्यान गुमाएको, सयौँ अझै बेपत्ता रहेको तथा हजारौँ परिवार घरबारविहीन बनेको उल्लेख गर्दै क्लबले क्षतिको आँकडाभन्दा पछाडि लुकेको पीडा, आँसु, विछोड र अधुरा कथालाई समेत स्मरण गर्नुपर्ने जनाएको छ।
खाँदबारी यूथ क्लबले हिले जात्रालाई यसपटक बाढीपीडितप्रति सहानुभूति, ऐक्यबद्धता र सहयोगको सन्देश दिने अवसरका रूपमा अघि बढाउन आह्वान गरेको छ। क्लबले आफ्नो सानो साथ, सहयोग र आवाजले समेत विपद्मा परेका परिवारको जीवनमा ठूलो आशा जगाउन सक्ने भन्दै सबैलाई मानवीय सहयोग र सामाजिक उत्तरदायित्वमा जोडिन आग्रह गरेको छ।
