Lite Nepal

आइतबार, भाद्र १४, २०८३

 

विराटनगर । राधा पौडेलले विपद् व्यवस्थापनका हरेक चरणमा महिनावारी हुने व्यक्तिका विशेष आवश्यकता सम्बोधन गर्नुपर्ने बताएकी छन्। उनले विपद्का समयमा लैङ्गिक समानताको नीति उल्लेख भए पनि महिनावारी सुरु हुँदै गरेका किशोरी, नियमित महिनावारी भइरहेका व्यक्ति, गर्भावस्थामा रहेका तथा महिनावारी सुक्दै गरेका व्यक्तिका फरक आवश्यकतालाई पर्याप्त रूपमा समेटिएको नदेखिएको बताइन्।

मदन पुरस्कार विजेता तथा मर्यादित महिनावारी अभियानकर्ता पौडेलले विपद्का बेला महिनावारी प्याड वितरण मात्रै समस्याको समाधान नभएको बताइन्। उनका अनुसार विपद्को अवस्थामा पानी, सरसफाइ तथा धुने सुविधा नहुन सक्ने भएकाले पुनः प्रयोग गर्न मिल्ने सामग्री प्रयोग गर्ने व्यक्तिका लागि आवश्यक पूर्वाधार र सामग्रीको व्यवस्था पनि हुनुपर्छ।

‘विपद्मा प्याड दिएर मात्रै हुँदैन। महिनावारी भएको व्यक्तिका लागि सुरक्षित रूपमा बस्ने ठाउँ, सरसफाइ, पानी तथा प्रयोग गरिएका सामग्रीको व्यवस्थापनको व्यवस्था पनि आवश्यक हुन्छ’ पौडेल बताउँछिन ।

उनले विपद् व्यवस्थापनको योजना निर्माणदेखि तथ्याङ्क संकलनसम्म महिनावारी हुने व्यक्तिको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। महिनावारी हुने र नहुने दुवै समूहलाई योजना निर्माण तथा निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्ने उनको भनाइ छ।

पौडेलले विपद्का बेला राहत वितरण गर्दा पनि महिनावारी हुने व्यक्तिका आवश्यकतालाई छुट्टै पहिचान गर्नुपर्ने बताइन्। गर्भवती व्यक्ति भेटिएपछि उनीहरूको आवश्यकतालाई ध्यान दिएर राहत तथा सेवा उपलब्ध गराउने गरिए पनि महिनावारी भइरहेका व्यक्तिका आवश्यकतालाई त्यही संवेदनशीलताका साथ नहेर्ने प्रवृत्ति रहेको उनले औँल्याइन्।

उनका अनुसार विपद् व्यवस्थापनका नीति, योजना र बजेटमा महिनावारीलाई मानवअधिकार र विशेष आवश्यकताको विषयका रूपमा समेटिनुपर्छ। महिनावारीसम्बन्धी सामग्री उपलब्ध गराउने मात्र नभई त्यसको सुरक्षित प्रयोग, सरसफाइ, फोहोर व्यवस्थापन र आवश्यक पूर्वाधारसमेत सुनिश्चित गर्नुपर्ने उनले बताइन्।

उनले विपद् व्यवस्थापनका सबै प्रक्रिया तथा बजेटमा महिनावारी हुने व्यक्तिको अधिकार र आवश्यकतालाई स्पष्ट रूपमा सम्बोधन गर्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेकी छन्।

‘विपद्मा महिनावारी हुने व्यक्ति छन् भन्ने कुरा नै राहत तथा विपद् व्यवस्थापनको योजनामा देखिनुपर्छ। नीति बनाएर मात्र होइन, त्यसका लागि आवश्यक बजेट र व्यवहारिक व्यवस्था पनि हुनुपर्छ,’पौडेलले जोड दिइन्।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं