‘सिलाम साक्मा’ले तान्यो ध्यान
विराटनगर । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनसँगै उनको टोलीमा रहेका प्रमुख सल्लाहकार कुमार बेन पनि चर्चामा आए।
प्रधानमन्त्री शाहको भाषण र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रस्तुतिबारे चर्चा भइरहँदा सामाजिक सञ्जालमा भने कुमार बेनको पहिरन र उनको सादगीपूर्ण शैलीले पनि ध्यान खिचेको देखियो।

सामान्य जीवनशैली रुचाउने व्यक्तिका रूपमा चर्चा हुने कुमार बेन यसपटक भने कोट–सुटमा देखिए। तर उनको पहिरनमा सबैभन्दा बढी ध्यान खिचेको विषय थियो, छातीमा लगाइएको सिलाम साक्मा।
सिलाम साक्मा लिम्बू समुदायको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण प्रतीक हो। लिम्बू भाषामा ‘सि’को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’को अर्थ छेक्नु वा रोक्नु भन्ने बुझाइ छ। यसरी हेर्दा सिलाम साक्मालाई प्रतीकात्मक रूपमा ‘मृत्युको बाटो छेक्ने’ वा रक्षा गर्ने अर्थमा बुझिन्छ।
सिलाम साक्माका धागो, रंग र संरचनासँग मुन्धुम तथा लिम्बू समुदायका विभिन्न सांस्कृतिक मान्यताहरू जोडिएका छन्। परम्परागत व्याख्याअनुसार यसमा सौर्यमण्डलका आठ ग्रह बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण र वरुणका प्रतीकका रूपमा आठवटा रंग प्रयोग गरिन्छ।
लिम्बू समुदायमा सांस्कृतिक विम्बका रूपमा स्थापित सिलाम साक्मा पछिल्लो समय परम्परागत प्रयोगमा मात्र सीमित छैन। आधुनिक फेसनसँग जोडेर पनि कतिपयले यसको प्रयोग गर्ने गरेका छन्। कसैले सिक्रीको लकेटको रूपमा त कसैले गहनाकै स्वरूपमा सिलाम साक्मा लगाउने गरेका छन्।
अझ पछिल्लो समय विभिन्न औपचारिक कार्यक्रम तथा समारोहमा अतिथिलाई स्वागत गर्ने क्रममा परम्परागत ब्याचको विकल्पका रूपमा समेत सिलाम साक्मा प्रयोग हुन थालेको छ। पाहुनालाई सिलाम साक्मा प्रदान गरेर आतिथ्यता र सांस्कृतिक सम्मान प्रकट गर्ने चलन पनि विस्तार हुँदै गएको देखिन्छ।
यही सांस्कृतिक प्रतीक संयुक्त राष्ट्रसंघजस्तो अन्तर्राष्ट्रिय मञ्चमा कुमार बेनको छातीमा देखिएपछि लिम्बू समुदायका केही अगुवा तथा अभियन्ताहरूले सामाजिक सञ्जालमार्फत यसको प्रशंसा गरेका छन्।

कतिपयले यसलाई अन्तर्राष्ट्रिय मञ्चमा लिम्बू समुदायको सांस्कृतिक पहिचान प्रस्तुत भएको रूपमा लिएका छन्। अर्कोतर्फ, केहीले भने यस्तो सांस्कृतिक प्रतीकको प्रयोगलाई भावनात्मक सेन्टिमेन्ट जोड्ने प्रयासका रूपमा समेत व्याख्या गरेका छन्।
तर कुमार बेनले सिलाम साक्मा लगाउनुको उद्देश्यबारे उनको आफ्नै स्पष्ट धारणा सार्वजनिक नभएसम्म त्यसलाई कुनै निश्चित राजनीतिक वा भावनात्मक उद्देश्यसँग जोडेर निष्कर्ष निकाल्न सकिँदैन।
यसबीच कुमार बेनको व्यक्तिगत जीवनलाई लिएर पनि सामाजिक सञ्जालमा केही चर्चा हुने गरेको छ। विशेषगरी उनको सामान्य जीवनशैली र सादगीपूर्ण प्रस्तुतिको चर्चा कतिपयले गर्ने गरेका छन्।
तर उनी आफ्नो व्यक्तिगत जीवनका विषयमा सार्वजनिक रूपमा चर्चा गर्न खासै रुचाउँदैनन्। त्यसैले उनको सार्वजनिक भूमिका र राजनीतिक गतिविधिको तुलनामा व्यक्तिगत जीवनबारे सञ्चारमाध्यममा पनि धेरै सामग्री भेटिँदैन।
यही कारणले पनि संयुक्त राष्ट्रसंघमा देखिएको उनको यो फरक पहिरन र छातीमा रहेको सिलाम साक्माले थप ध्यान खिचेको देखिन्छ। एउटा सांस्कृतिक प्रतीक तर त्यसले बोकेको अर्थ भने समुदायको पहिचान, परम्परा र संस्कृतिसँग जोडिएको छ।
अन्तर्राष्ट्रिय मञ्चमा देखिएको यही सिलाम साक्माले अहिले लिम्बू समुदायको सांस्कृतिक पहिचानलाई आधुनिक पुस्ता र सार्वजनिक जीवनसँग कसरी जोडिँदैछ भन्ने बहसलाई समेत फेरि सतहमा ल्याएको छ।
