विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनका लागि प्रदेश सरकारले आवश्यक तयारी सुरु गरेको जनाएको छ।
संघीयतामा देखिएका चुनौती, प्रदेशले भोग्दै आएका समस्या तथा संघीयता सुदृढीकरणका लागि अपनाउनुपर्ने उपायबारे सम्मेलनमा छलफल हुने बताइएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयतामा देखिएका चुनौती र प्रदेशहरूले अवलम्बन गरेका असल अभ्यासबारे छलफल गर्दै आर्थिक समृद्धि र सुशासनको बाटो पहिल्याउन सम्मेलन आयोजना गर्न लागिएको बताए । ।

सम्मेलनको तयारी तथा समन्वयको जिम्मेवारी कोशी प्रदेश योजना आयोगलाई दिइएको छ। मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सातै प्रदेशका मुख्यमन्त्रीसँग समन्वय भइसकेको जानकारी दिए । उनको अनुसार सम्मेलनमा प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता तथा विभिन्न सरकारी अधिकारीहरूको समेत सहभागिता रहनेछ।
प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार असोज २२ गते सातै प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा सम्मेलनको उद्घाटन हुनेछ। त्यसपछि प्रदेशहरूले गरेका असल अभ्यासबारे छलफल गरिनेछ। छलफलमा प्रदेशले भोगिरहेका समस्या, स्थानीय तह र संघीय सरकारसँग गर्नुपर्ने समन्वय तथा कानुनी पक्षका विषयमा अन्तरक्रिया गरिने उनले बताए ।
सम्मेलनका क्रममा प्रदेशको पर्यटन प्रवर्द्धनका लागि मुख्यमन्त्रीहरूलाई विराटनगर आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गराउने कार्यक्रमसमेत तय गरिएको छ। पहिलोपटक आयोजना हुन लागेको सम्मेलनलाई आगामी दिनमा नियमित गर्ने तथा प्रदेशका मुख्यमन्त्रीबीच समन्वयका लागि स्थायी फोरमका रूपमा विकास गर्ने तयारीसमेत गरिएको उपाध्यक्ष निरौलाले जानकारी दिए ।
कोशी प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद भट्टले सम्मेलनमा प्रदेशहरूबीच साझेदारी र सहकार्यका विषयमा समेत छलफल हुने भएकाले कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे। प्रदेशहरूका साझा समस्या पहिचान गरी समाधानका लागि आवश्यक पहल गर्न सम्मेलन उनको भनाइ छ ।
प्रदेशहरूबीचको सहकार्यबाट विकास र समृद्धिमा थप गति आउन सक्ने बताउँदै सम्मेलनको सफलताले संघीयता कार्यान्वयन र सबलीकरणमा समेत सहयोग पुग्ने धारणा व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीका अनुसार सम्मेलनमा कोशी प्रदेशका उत्पादन अन्य प्रदेशमा लैजाने तथा अन्य प्रदेशका उत्पादन कोशीमा भित्र्याउने विषयमा समझदारी गर्ने तयारी गरिएको छ। व्यापार प्रवर्द्धनसँगै पर्यटनका सम्भावनाका विषयमा पनि प्रदेशहरूबीच साझेदारी र सहकार्य गर्ने योजना रहेको उनको भनाइ छ ।
सम्मेलनको तयारीका लागि आवश्यक समिति गठन तथा कार्यविभाजन गरी कोशी प्रदेश योजना आयोगले काम अघि बढाइसकेको जनाएको छ।