काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्ड अन्तर्गत कृष्णभीरमा खसेको पहिरो पन्छाएपछि त्यहाँ सवारीसाधन सञ्चालनमा आएको छ । उक्त सडकखण्डका अन्य ७ स्थानमा भने पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको छ ।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा पहिरो सफा गरिएसँगै सवारी साधन आवतजावत गर्न सकिने अवस्था बनेको हो । सडकको भित्तातर्फ खसेको पहिरो पन्छाएर सवारी चलाइए पनि छेउको गेबियन वाल (पर्खाल) भने खसेको छ ।

यद्यपि, मुख्य ट्रयाक भन्दा २ देखि ३ मिटर जग्गा अझै बाँकी रहेको र सडकमा ठुला धाँजा (क्र्याक) नदेखिएकाले तत्कालका लागि सवारी सञ्चालन गर्न सकिने उनले जानकारी दिए ।
‘कृष्णभीरमा सडक मुनिको पर्खाल खसे पनि मुख्य ट्र्याक जोगिएको छ र पहिरो सफा भएपछि सवारीसाधन चल्न थालेका छन्,’ सूचना अधिकारी मिश्रले भने, ‘तर निरन्तर वर्षा भइरहे थप पहिरो जाने वा सडक भासिने जोखिम भने कायमै रहन्छ ।’
उक्त सडक खण्डका अन्य ७ स्थानमा खसेको पहिरो हटाउन हेभी मेसिनहरू परिचालन गरिएको आयोजनाले जनाएको छ । सूचना अधिकारी मिश्रका अनुसार कृष्णभीर बाहेक पानीधारा, धारापानी, जवां, जलविरे, रोराङ लगायतका स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ ।
सो क्षेत्रमा अझै पनि पानी परिरहेकाले पहिरो पन्छाउने कार्यमा केही कठिनाइ भइरहेको छ । सबै ठाउँको पहिरो पूर्ण रूपमा सफा भएपछि मात्र सडक खण्डमा निर्बाध रूपमा सवारी आवागमन सुचारु हुने जनाइएको छ । वर्षा र पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ ।