काठमाडौं । बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्र्याक खोलिएको छ। ट्र्याक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्। मन्त्री लम्सालको सचिवालयका अनुसार रसुवासँग जोडिने मुख्य सडकमार्गका रूपमा रहेको उक्त खण्डमा ट्र्याक खुले पनि सडकको ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी छ।
सडक निर्माण तथा मर्मतको काम भइरहेका बेला बाक्लो सवारी आवतजावत हुँदा निर्माण कार्य प्रभावित भइरहेको जनाउँदै मन्त्री लम्सालले निर्माण कार्यमा आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह गरेका छन्।

ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै सडकखण्डमा बेलिब्रिज जडानको कामसमेत अघि बढाइएको छ। नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको तयारी सुरु गरिएको छ।

यस्तै, रसुवातर्फ बेलिब्रिजको फाउन्डेसन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले जानकारी दिएका छन्। निर्माण कार्यलाई तीव्रता दिँदै आगामी एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको मन्त्रालयले जनाएको छ।
बाढीका कारण सडक संरचनामा क्षति पुगेपछि रसुवा आवतजावत प्रभावित हुँदै आएको थियो। ट्र्याक खुलेसँगै यातायात सञ्चालनमा सहजता आउने र बेलिब्रिज जडानपछि सडकमार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।