काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रम तथा गतिविधिमा सहभागी भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले त्यस्ता शिक्षकको पहिचान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई निर्देशन दिएको छ।
बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यानलगायत जिल्लामा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भएको समाचार सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

मन्त्रालयले जारी गरेको परिपत्रमा शिक्षकहरूको राजनीतिक गतिविधिमा संलग्नता शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम ९१० को खण्ड (ग) विपरीत हुने उल्लेख गरिएको छ।

मन्त्रालयले आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकहरूको पहिचान गरी थप अनुसन्धान तथा निगरानी गर्न निर्देशन दिएको छ। साथै, सम्बन्धित स्थानीय तहसँग समन्वय गरी शिक्षा नियमावलीको नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था मिलाउन ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरिएको छ।
मन्त्रालयले शिक्षकहरूलाई प्रचलित कानुन तथा आचारसंहिताको पालना गर्दै आफ्नो पेसागत मर्यादा कायम राख्नसमेत आग्रह गरेको छ।
