Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। पारित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ।

सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरणसमेत सभाले पारित गरेको छ।

समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो। यसैगरी, बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ। स्वीकृत बोनस शेयर वितरणसँगै बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शेयरधनीहरूको निरन्तर विश्वास र साथप्रति आभार व्यक्त गरे।

उनले ग्राहक, शेयरधनी, नियामक निकाय तथा शुभेच्छुकहरूको साथ र सहयोगका कारण बैंकले दुई दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको बताए।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनको पूर्ण पालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता उनले दोहोर्‍याए। ग्राहकलाई थप सहज र अत्याधुनिक सेवा प्रवाह गर्न डिजिटल बैंकिङ प्रणालीमा लगानी विस्तार गरिने जानकारीसमेत उनले दिए।

सभाले बैंकको प्रबन्ध पत्र तथा नियमावली आवश्यकताअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने तथा आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।

साधारण सभामा नियामक निकायका प्रतिनिधि, शेयरधनी, संस्थागत लगानीकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

आधुनिक प्रविधि र ग्राहक सेवाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरिसकेको छ। यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ र बेस्ट इम्प्लोयरलगायतका पुरस्कारसमेत प्राप्त गरेको छ।

ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै आएको जनाएको छ।

हालै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूको तत्काल राहत तथा उद्धारका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तथा कर्मचारीहरूको एक दिनको तलब बराबरको रकमसमेत गरी ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं