काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा दोस्रो जित निकालेको छ । योसँगै टोली प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ ।
टोलीले तीन खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ । काठमाण्डूले समान चार अंक बनाएको कर्णाली याक्सलाई रन रेटका आधारमा पछाडि पारेको हो ।

बिहीबार काठमाण्डूले दोस्रो जित निकाल्ने क्रममा विराटनगरले प्रस्तुत गरेको ८४ रनको लक्ष्य ९.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

काठमाण्डूको जितमा ओपनर डेविड वार्नरले अविजित ४४ रन बनाए । उनले २४ बलमा दुई चौका र तीन छक्का प्रहार गरे ।
अविजित रहेका विलियम बोस्सिटोले २३ रन बनाए । उनले २४ बलमा तीन चौका प्रहार गरे । त्यसैगरी, ओपनर साहिल पटेलले १० रन बनाए ।
विराटनगरका लागि रुपेश सिंहले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको विराटनगरले काठमाण्डूविरुद्ध १८.३ ओभरमा सबै विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो । खेलमा विराटनगरले प्रतियोगिताकै निराशाजनक प्रर्दशन गर्यो । टोलीका मुख्य खेलाडीहरू क्रिजमा टिक्न सकेनन् ।
१.५ ओभरमा पाँच रन बनाएका ओपनर सेहन जयसुर्यालाई जहान्डनले रशिद खानबाट क्याच गराए ।
२.३ ओभरमा इम्रान शेखलाई करण केसीले भीम शार्कीबाट क्याच गराउँदै पभेलियनको बाटो देखाए ।
दुई ओभरपछि, लोकश बम पनि क्याच आउटबाट जागिएनन् । उनलाई साहब आलमले जाहानडाडबाट क्याच गराए । लोकश १० रनसहित पभेलियनको बाटो गए ।
बसिर अहमदलाई ७.५ ओभरमा सहन अरचिगेले बोल्ड गरे । बसिरले पनि १० रन मात्र खातामा जोड्न सके ।
बसिरपछि क्रिजमा एञ्जेलो म्याथयुज आए । एञ्जेलोले भने इनिङ उकास्न प्रयास गरेका थिए । २६ रन बनाएका उनले तीन चौका र एक छक्का प्रहार गरे । तर, १६.२ ओभरमा सन्तोष यादवमाथि बाउन्ड्रीको प्रयास गर्दा उनी क्याच भएका थिए ।
उनै अरचिगेले नारायण जोशीलाई आठौँ ओभरको अन्तिम बलमा क्याच गराए । नवौँ ओभरमा शुभम रञ्जाने पनि सन्तोष यादवको बलमा विलियमको हातबाट क्याच हुन पुगे ।
यसपछि, तीन रन बनाएका आन्द्रे रसेल देव शाहविरुद्ध बाउन्ड्री प्रहार गर्ने प्रयास गर्दा क्याच आउट भए । रसेलको प्रहार जहान्डाडले बाउण्ड्री लाइन नजिकै क्याच गरे ।
रुपेश सिंह २६ रन बनाएर १६.६ ओभरमा पभेलियन फर्किए । रसेलल आउट भएपछि क्रिजमा आएका उनले एञ्जेलोसँग ३९ रनको साँझोदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरेका थिए । उनीहरूले १६.२ ओभरसम्म साझेदारी गर्दा विराटनगरले आठ विकेटको क्षतिमा ७४ रन बनाएको थियो । तर, उनलाई सन्तोषले एलबीडब्लूको धरापमा पारे ।
उनीहरूबाहेक अप्रजित पौडेलले दुई र अविजित रहेका कप्तान सन्दीप लामिछानेले तीन रन बनाए ।
काठमाण्डूका लागि सन्तोष यादवले महत्त्वपूर्ण तीन विकेट लिए । उनले तीन ओभर बलिङ गर्दा ११ रन खेले । उनको इकोनोमी ३.६६ रहयो । कप्तान करण र सहनले समान दुई विकेट लिए । जाहानडाड, साहब र देव खनालले समान एक विकेट लिए ।
हारसँगै विराटनगरले भने पाँचौँ स्थानमा झरेको छ । टोली रनरेटका आधारमा पछाडि परेको हो ।