सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरका विभिन्न स्थानमा जुवा खेलिरहेको आरोपमा ५५ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा कात्तिक २२ गते राति सञ्चालन गरिएको विशेष कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा नगद हारजित हुने गरी जुवा खेल भइरहेको सूचना प्राप्त भएपछि कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा मातहतका प्रहरी कार्यालयबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले विभिन्न स्थानमा खानतलासी गर्ने क्रममा जुवा खेल्न प्रयोग भएको आशंकामा नेपाली रुपैयाँ १२ लाख ३२ हजार ८४५ र भारतीय रुपैयाँ १३ हजार १२५ बरामद गरेको जनाएको छ। भारतीय मुद्राको नेपाली मूल्य २१ हजार रुपैयाँ कायम गर्दा बरामद रकमको कुल मूल्य १२ लाख ५३ हजार ८४५ रुपैयाँ पुगेको प्रहरीले जनाएको छ।

त्यसैगरी, जुवा खेल्न प्रयोग गरिएका ५२ पत्तीका ५३ गड्डी ताससमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा सुर्खेतसहित दैलेख, जुम्ला, बर्दिया, कैलाली, अर्घाखाँची तथा भारतका विभिन्न स्थानका व्यक्तिहरू रहेका छन्। प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम, उमेर र ठेगानासहितको विवरण सार्वजनिक गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।