Lite Nepal

सोमबार, कार्तिक २३, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले टर्किएको आन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपाल पेभिलियनको उद्घाटन गरेका छन् ।

नेपालको जलवायु महत्त्वाकांक्षा, जैविक विविधता संरक्षणमा हासिल गरेका उपलब्धि तथा समुदायस्तरमा सञ्चालन गरिएका अनुकूलनका प्रयासलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने उद्देश्यले पेभिलियन स्थापना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उद्घाटनका क्रममा परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिक प्रणालीले सामना गरिरहेका जलवायुजन्य जोखिम तथा चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । उनले हिमाली क्षेत्रमा हिउँ, हिमनदी तथा जमेको पानीको प्रणाली (क्रायोस्फियर)  मा देखिँदै गएका परिवर्तनले निम्त्याएका जोखिमप्रति चिन्ता व्यक्त गरे ।

हालैको विनाशकारी भोटेकोसी विपद्लाई ‘हिमालयन सुनामी’ को संज्ञा दिँदै उनले नेपालजस्ता मुलुकले जलवायु परिवर्तनका कारण असमानुपातिक रूपमा ठूलो जोखिम र क्षति व्यहोर्नुपरिरहेको बताए ।

खनालले जलवायु न्याय सुनिश्चित गर्न, हानि तथा क्षति कोषमा प्रभावित मुलुकहरूको सहज पहुँच स्थापित गर्न तथा हिमाली क्षेत्रको उत्थानशीलता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

हिमाली क्षेत्रको संरक्षणका साथै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षाका लागि समेत विश्वव्यापी सहकार्य अपरिहार्य रहेको उनले बताए । उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री नीशा मेहता, प्रतिनिधिसभा सदस्य सागर ढकाललगायत विभिन्न क्षेत्रका विशिष्ट प्रतिनिधिहरूले पनि सम्बोधन गरेका थिए ।

परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु सम्मेलनमा सहभागी हुन टर्किए पुगेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं