विराटनगर । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका एक कैदी मोरङमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१९ का ४२ वर्षीय विजयकुमार राई रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो करिब ३ बजे बुढीगंगा गाउँपालिका–४ बाट पक्राउ गरेको हो।
राई लागुऔषध मुद्दामा १० वर्ष कैद सजाय तोकिएपछि काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार, जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए। जेनजी आन्दोलनका क्रममा उनी २०८२ साल भदौ २४ गते उक्त कारागारबाट फरार भएका थिए।

कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। पक्राउ परेका राईले अझै ८ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका राईलाई बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार मोरङ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
