काठमाडौं । छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाट पुगेर छठी माताको दर्शन तथा पूजाआराधना गरेका छन्। यस अवसरमा गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। छठ पर्वको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पूजाआराधना गर्दैछन्।
सूर्यदेव र छठी माताको उपासना गरेर मनाइने यस पर्वमा सूर्यलाई अर्घ्य अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा छ। चार दिनसम्म मनाइने छठ पर्व सोमबार (कात्तिक ३०) बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि विधिवत् रूपमा समापन हुनेछ।

