विराटनगर । रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
रारा ताल जाने पर्यटक बोकेर जाँदै गरेको बा १७ च १८६४ नम्बरको स्कोरपियो आइतबार साँझ करिब ४ बजे रारा जाने सडकको मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित जिरो प्वोइन्टबाट करिब एक सय मिटर अगाडि दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार दुर्घटनाका बेला स्कोरपियोमा पाँच जना सवार थिए। तीमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रवीराज थपलियाका अनुसार घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याउने तयारी भइरहेको छ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको पहिचान र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।