Lite Nepal

बुधबार, मंसिर ०२, २०८३

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीका कानुन व्यवसायीले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा रोक लगाउन सर्वोच्च अदालतसँग अन्तरिम आदेश माग गरेका छन् ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइमा कार्की पक्षका कानुन व्यवसायीले सरकारको निर्णय स्वेच्छाचारी भएको दाबी गर्दै त्यसबाट अपूरणीय क्षति पुग्ने जिकिर गरे ।

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले सरकारको निर्णयले प्रहरी संगठनको चेन अफ कमाण्ड र स्थायित्वमा असर पर्ने भन्दै सुविधा र सन्तुलनका आधारमा कार्कीको पक्षमा अन्तरिम आदेश जारी हुनुपर्ने माग गरे ।

त्यस्तै, वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले कानुनी आधार र कारणबिना कार्यकाल पूरा नहुँदै आईजीपीबाट हटाउनु गैरकानुनी भएको दाबी गरे । प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ अनुसार स्पष्टीकरण सोध्ने र सफाइको मौका दिने प्रक्रिया उल्लंघन भएको उनको जिकिर थियो ।

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, पूर्णमान शाक्य र डा। दिनमणि पोखरेलले पनि सरकारको निर्णय स्वेच्छाचारी भएको भन्दै बदर गर्नुपर्ने तर्क गरे । उनीहरूले बहालवाला आईजीपीलाई राजनीतिक नियुक्तिको पदमा सार्नु पदबाट हटाउनु सरह भएको दाबी गरे ।

कार्कीको पुनर्बहालीको माग गर्दै वरिष्ठ अधिवक्ता केदार कोइराला, ललित बस्नेत तथा अधिवक्ताहरू माधव बस्नेत र टीका कुँवरले समेत बहस गरेका थिए । कार्कीले मन्त्रिपरिषद्को निर्णय बदर गरी आफूलाई आईजीपीमा पुनर्बहाली गर्न माग गर्दै गत कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

मन्त्रिपरिषद्ले गत कात्तिक १८ गते कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेपछि उक्त निर्णय कानुनी विवादमा परेको हो । रिट निवेदकका तर्फबाट बहस सकिएसँगै अब सर्वोच्चको आदेश आउने प्रतीक्षा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं