विराटनगर । चाडपर्व सकिए पनि विराटनगरको बरगाछी पश्चिमस्थित चाँदनी चोकमा खेल्ने र खेलाउने क्रम अझै रोकिएको छैन। बरगाछी क्षेत्रमा प्रहरीको सीआरभी तैनाथ गरिएको भए पनि साँझ परेपछि ढाइस खेलाउने गतिविधि जारी रहने गरेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार चाडपर्व सकिएपछि पनि उक्त क्षेत्रमा खुलेआम ढाइस खेलाउने गरिएको छ। प्रहरीको निगरानीबाट बच्न तथा प्रहरी आएको सूचना दिन रकम दिएर गेटकीपरसमेत परिचालन गर्ने गरिएको स्थानीयको आरोप छ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय मोरङ भने जानकार नरहेको बताइएको छ। यता, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले उक्त क्षेत्रमा प्रहरीले पटक–पटक कारबाही गरिसकेको बताएका छन्। उनका अनुसार प्रहरीले तीन पटकसम्म छापा मारेर ढाइस खेलाउने तथा खेल्नेहरूलाई नियन्त्रणमा लिइसकेको छ।

एसपी कटवालले प्रहरीको सादा पोसाकको टोलीसमेत परिचालन गरी निगरानी भइरहेको जानकारी दिँदै यसपटक धेरैलाई नियन्त्रणमा लिइएको बताए। उक्त गतिविधिमाथि कडाइका साथ निगरानी र कारबाहीलाई निरन्तरता दिने उनको भनाइ छ।