काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत आज हुने दोस्रो क्वालिफायर खेलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। फाइनल प्रवेशका लागि चितवनले सुदूरपश्चिम रोयल्सको सामना गर्दैछ।
आजको खेलका लागि सुदूरपश्चिमले टोलीमा दुई परिवर्तन गरेको छ। अविनाश बोहराको स्थानमा दीपक बोहरा तथा थनुका दबारेको स्थानमा फेबियन एलेनलाई प्लेइङ–११ मा समावेश गरिएको छ। चितवनले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ।
आजको खेल जित्ने टोलीले फाइनलमा स्थान बनाउनेछ। सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो भने चितवनले हिजो भएको खेलमा काठमाडौंलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।
आजको खेल नम्बर २ पिचमा खेलाइँदै छ। यही पिचमा यसअघि पोखराले २०० रनभन्दा बढीको योगफल बनाएको थियो। त्यसैले आजको खेलमा पनि ब्याटिङतर्फ उच्च योगफल बन्ने अपेक्षा गरिएको छ।
