काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी घोषणा गरेका बालेन शाह बिहीबार ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर पुगेर पूजाअर्चना गरेका छन्। श्रीपञ्चमीको अवसर पारेर पुगेका शाहले मुलुकको समृद्धि र आफ्नो चुनावी अभियान सफल होस् भन्ने कामना गरेका छन्।
शाह पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, पाँचथर र इलामको भ्रमणमा रहेका छन्। बुधबार झापाको दमकबाट प्रस्थान गरेका उनले यात्राका क्रममा स्थानीयसँग भेटघाट र भलाकुसारी गरेका थिए। काफ्ले पाटीबाट पैदल उकालो चढ्दै बुधबार साँझ माथिल्लो फेदी पुगेका थिए।
झापा क्षेत्र नम्बर ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। पाथिभरा दर्शनपछि शाह बिहीबार नै झापा फर्किने र घरदैलो अभियानलाई तीव्र बनाउने तयारी गरेका छन्।

