काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालका पहाडी र तराई भूभागमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यसको सबैभन्दा बढी प्रभाव सुदूरपश्चिम प्रदेशमा देखिएको छ । पछिल्लो १२ घण्टामा डडेलधुरामा सबैभन्दा बढी २९.६ मिलिमिटर वर्षा मापन गरिएको छ । हाल सुदूरपश्चिमभन्दा कर्णाली र लुम्बिनी प्रदेशमा बढी पानी परिरहेको छ ।
वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार वर्षा गराउने बादल पूर्वतिर सर्दै गए पनि प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । काठमाडौं उपत्यकामा आज दिउँसो हल्का वर्षाको सम्भावना छ भने घाम लाग्ने सम्भावना कम रहेको उनले बताए ।
मधेश र झापा बाहेक अधिकांश स्थानमा हल्का वर्षा हुने तथा मनाङ–मुस्ताङसहित पूर्वी पहाडी हिमाली भेगमा मध्यम हिमपातको सम्भावना रहेको छ । मौसम आज साँझदेखि क्रमशः सुधार हुने पूर्वानुमान गरिएको छ ।
