काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपात भइरहेको छ ।
आज दिउँसो देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, राति देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
