Lite Nepal

बुधबार, चैत्र २५, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा आधिकारिक र अनौपचारिक स्रोतबीच फरक–फरक दाबी सार्वजनिक भएका छन्।

गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जनाएको छ। स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि देउवा दम्पती हाल नेपाल बाहिर रहेकाले कार्यान्वयन हुन सकेको छैन।

यसअघि विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुर स्वयं बिहान करिब ९ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर देउवा दम्पतीको नागरिकतालगायत विवरण संकलन गरेका थिए। स्रोतका अनुसार विवरण भेरिफाइ गरेलगत्तै पक्राउ पुर्जीका लागि प्रक्रिया अघि बढाइएको हो।

“नागरिकतालगायत विवरणहरू भेरिफाइका लागि आउनुभएको थियो, विवरण लिएर जानुभयो,” स्रोतले भन्यो।

तर महानिर्देशक ठाकुरले भने पक्राउ पुर्जी लिइसकेको भन्ने विषय अस्वीकार गरेका छन्। “नियमित अनुसन्धानकै प्रक्रिया हो, पुर्जी लिएको छैन,” उनले बताए ।

हाल देउवा दम्पती विदेशमा रहेका छन्। २१ फागुनको प्रतिनिधिसभा निर्वाचनअघि स्वास्थ्य उपचारका लागि सिंगापुर गएका उनीहरू त्यहाँबाट हङकङतर्फ गएको समाचार सार्वजनिक भएको थियो।

यसअघि जेन जेड आन्दोलनका क्रममा देउवा दम्पतीमाथि आक्रमण भएको तथा बुढानीलकण्ठ स्थित निवासमा आगजनी हुँदा जलेका नगद फेला परेको विषय सार्वजनिक भएको थियो। सोही घटनापछि विभागले स्थलगत मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा