तेह्रथुम । लालीगुराँस नगरपालिका–१ स्थिते तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फूलेपछि पर्यटकको चहलपहल बढेको छ।
वैशाख १ गते नयाँ वर्षमा अनुमानित २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले तिनजुरे क्षेत्रको भ्रमण गरेको इलाका प्रहरी कार्यालय वसन्तपुरका इञ्चार्ज रुपेश तामाङले बताए। छिमेकी जिल्ला सङ्खुवासभा, भोजपुर, पाँचथर, धनकुटासँगै पूर्वी तराईका जिल्ला सुनसरी, मोरङ, झापाका साथै भारतको विहारलगायतका स्थानका पर्यटक आएको उनले बताए।
चैतको दोस्रो सातायता तीनजुरे क्षेत्रमा गुराँस फुल्न थालेपछि जिल्ला बाहिरबाट दैनिक पाँच हजार पर्यटक तीनजुरे क्षेत्र आउने गरेको होटल व्यवसायी सङ्घ वसन्तपुरका अध्यक्ष प्रकाश श्रेष्ठले बताए। तिनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार वसन्तपुर बजारमा रहेको चोत्लुङ पार्क, तिनजुरे क्षेत्रमा पर्ने आरआर गार्डेन, पाभीभरा मन्दिर, तिनजुरे पिक, पाँचपोखरी, गुफापोखरी क्षेत्रमा फुलेका गुराँस हेर्ने पर्यटकको भिडले गुल्जार बनेको छ।
गुराँसको राजधानी टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन् । यो क्षेत्रमा वसन्तपुरस्थित नयाँ सहर आयोजनाको कार्यालयले विभिन्न पर्यटकीय संरचना निर्माण गरेका छन् । उक्त क्षेत्रमा साढे १० करोड बजेटको संरचना निर्माण गरिएको नयाँ सहर आयोजना कार्यालय वसन्तपुरका प्रमुख सुदीप झाले बताए । जसमा आरआर गार्डेन परिसरमा पिकनिक स्पट, शौचालय, ओपन थिएटर निर्माण गरिएका छन्।
त्यसैगरि तिनजुरे जाने सडकको ठाउँठाउँमा शौचालय निर्माण गरिएका छन् । त्यसैगरी पाथीभरा मन्दिर जाने सिँढीमार्गमा छानोलगायत संरचना निर्माण गरिएको छ । बाह्रै महिना पर्यटक आइरहने तीनजुरे क्षेत्रमा गुराँस फुल्ने र हिउँ पर्ने सिजनमा विशेष पर्यटकीय चहलपहल बढ्छ । सो क्षेत्रमा पछिल्लो समय हिउँ पर्न छाडेपछि गुराँस फुल्ने समय र नयाँ वर्षको दिन पर्यटकले भरिभराउ हुने गरेको टुटेदेउरालीस्थित हिमगङ्गा होटलका सञ्चालक श्री कार्कीले बताए ।
तिनजुरे क्षेत्रको नाम धेरै सुनेकाले यसपल्ट झापाबाट परिवारसँग नयाँ वर्ष मनाउन आएको आयुष्मा राईले बताउनुभयो । पहिलो पटक तीनजुरे क्षेत्र आउनुभएका उहाँलाई यहाँको चिसो मौसम, स्वच्छ हावापानी र वनमा फूलेका गुराँसले मोहित बनाएको बताए।
त्यसैगरी, सुनसरीको इटहरीबाट आउनुभएका सुरेन्द्र क्षेत्रीले तिनजुरे क्षेत्र एकपटक पुग्नैपर्ने ठाउँका रुपमा आफूले पाएको प्रतिक्रिया दिए।
