Lite Nepal

शनिबार, बैशाख ०५, २०८३

ताप्लेजुङ । ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो ।

कञ्चनजंघा क्षेत्र चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमणका लागि उपयुक्त समय मानिन्छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टाँसीछिरिङ शेर्पाका अनुसार पछिल्लो एक महिनामा १६५ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

वर्षमा दुई पटक प्रमुख पर्यटकीय याम मानिन्छ । पहिलो चैतदेखि जेठसम्म र दोस्रो असोजदेखि मङ्सिरसम्म रहेको उनले जानकारी दिए । गत वर्ष पहिलो याममा मात्रै ७५० विदेशी पर्यटक यहाँ आएका घुन्सा चेकपोस्टले जनाएको छ ।

कञ्चनजंघा आधार शिविर पुग्न दुई प्रमुख पदमार्ग प्रयोग हुँदै आएका छन् । पाँचथरको गणेशचोक हुँदै सिरिजंघा गाउँपालिका भएर र काठमाडौंबाट हवाईमार्ग हुँदै सुकेटार विमानस्थल पुगेर फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी आधार शिविर पुग्न सकिन्छ ।

पर्यटकलाई लक्षित गर्दै कञ्चनजंघा पदमार्गमा सानाठूला गरी ५२ वटा होटल सञ्चालनमा रहेका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा करिब सात करोड रुपैयाँभन्दा बढी लगानीमा ‘सिङ्गी नामजोंग होटल’ सञ्चालनमा आएको छ ।

समुद्री सतहबाट तीन हजार ५०० देखि चार हजार ५०० मिटर उचाइसम्म एक करोड रुपैयाँभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेका घुन्सा चेकपोस्टका पर्यटन सहायक शेर्पाले जानकारी दिए । उनका अनुसार अन्य होटलहरूमा पनि करिब ८० लाखभन्दा रुपैयाँ बढी लगानीका छन् ।

सदरमुकाम फुङ्लिङ बजारमा पर्यटक लक्षित गरी ठूला लगानीका होटलहरू सञ्चालनमा आएका छन् । पर्यटकको आगमन बढेसँगै यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित बनेका छन् ।

कञ्चनजंघा संरक्षण क्षेत्रका स्थानीय समुदायको मुख्य जीविकोपार्जन पर्यटन, होटल व्यवसाय र पशुपालनमा आधारित छ । घुन्सा, फले र याम्फुदिन क्षेत्रका अधिकांश घरपरिवार पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएका पर्यटन सहायक शेर्पाले बताए ।

उनका अनुसार कोही होटल सञ्चालन गरेर स्वरोजगार बनेका छन् भने कोही पर्यटक मार्गदर्शक वा सहयोगीका रूपमा आयआर्जन गर्दै आएका छन् । खेतीपातीका सम्भावना कम भएकाले पछिल्लो समय युवापुस्ता पशुपालनभन्दा पर्यटन व्यवसायतर्फ आकर्षित देखिएका उनको भनाइ छ ।

सन् १९५५ मे २५ मा कञ्चनजंघाको पहिलो आरोहण भएको इतिहास छ । विगतमा फुङ्लिङबाट पैदल यात्रा गर्दा करिब २४ दिन लाग्ने यस क्षेत्रको भ्रमण अवधि अहिले छोटिएर ११ देखि १६ दिनमा दुवै आधार शिविर पुगेर फर्कन सकिन्छ । यस क्षेत्रमा चैत, वैशाख, जेठ तथा असोज, कात्तिक र मङ्सिरमा पर्यटकको चाप बढी हुने गर्दछ ।

हिमाल आरोहण भने मुख्यतः वैशाख र जेठमा हुने पर्यटन सहायक शेर्पाले जानकारी दिए ।

यहाँ जापान, जर्मनी, अष्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्विडेनलगायत देशबाट पर्यटक आउने गरेका छन् ।

साथै भारत र चीनबाट पनि कम सङ्ख्यामा पर्यटक भ्रमण तथा आरोहणका लागि आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा