ताप्लेजुङ । ताप्लेजुङ जिल्लावासीहरूले पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार र जिल्लाका ठुला विकास आयोजना सञ्चालनमा कुनै अवरोध नहुने वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।
ताप्लेजुङका विकास प्रेमी युवा, निर्माण व्यवसायी र जेन्जी प्रतिनिधिहरूको संयुक्त टोलीले बिहीबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाउँदै जिल्लाको विकास निर्माणमा विभिन्न वाहानामा हुने अवरोधले लगानीकर्ताको मनोबल घट्ने बताए ।
उनीहरूले वर्तमान अवस्थामा लगानीकर्ताको खडेरी भइरहेको उल्लेख गर्दै जिल्लामा भित्रिएका ठुला आयोजनाहरूमाथिको अवरोधको प्रयासले जिल्लाको भविष्यमाथि प्रहार भएको बताएका छन् ।
केबलकार लगायतका पूर्वाधार निर्माणले जिल्लामा पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय उत्पादनको बजार विस्तारमा उल्लेखनीय योगदान पुग्ने ताप्लेजुङवासीको विश्वास छ । यसले कोशी प्रदेश मात्र नभई समग्र देशको आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

तर, पछिल्ला दिनमा केही समूहले विकास निर्माण कार्यमा अवरोध सिर्जना गरिरहेको भन्दै जिल्लावासीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । पत्रमा बाहिरी व्यक्तिहरू समेत संलग्न भई जलविद्युत, प्रसारण लाइन, केबलकार लगायतका आयोजनामा समस्या उत्पन्न गरिरहेको उल्लेख गरिएको छ ।
स्थानीयहरूले लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्दै विकास निर्माण कार्यलाई सहज रूपमा अगाडि बढाउन, साथै सडक स्तरोन्नतिसहित आवश्यक पूर्वाधार छिटो सम्पन्न गर्न सरकारसँग माग गरेका छन् ।
प्रधानमन्त्रीलाई पठाइएको ध्यानाकर्षण पत्रमा ताप्लेजुङ विकास प्रेमी युवा समाजका संयोजक प्रकाश मादेन, निर्माण व्यवसायी संघका अध्यक्ष जसबहादुर चेम्जोङ, उपाध्यक्ष इन्द्रकुमार केदेम, जेन्जी संयोजक गोपाल गुराँगाईँ र जेन्जी प्रतिनिधि सागर लाम्गादेले हस्ताक्षर गरेका छन् ।
यता बिहीबार नै केबलकार निर्माणको विरोध गर्दै आएका केबलकार खारेजी समूहले पनि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पत्र पठाउँदै केबलकार बन्न नहुने अडान दोहोर्याएका छन् ।


