Lite Nepal

सोमबार, बैशाख २१, २०८३

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आफ्नो क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माण परियोजनाको काम निरन्तर अघि बढ्ने वातावरण मिलाई सहजिकरण गरिदिन प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । नगरप्रमुख आमिर मादेनले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई सोमबार पत्र पठाउँदै यस्तो आग्रह गरेका हुन् ।

बैशाख १६ गते बसेको ८७औं कार्यपालिका बैठकले समेत यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने निर्णय गरेको उल्लेख गर्दै नगरप्रमुख मादेनद्धारा हस्ताक्षरित पत्रमा लगानीकर्ताको मनोबल उच्च बनाए मात्र मुलुकले विकासमा फड्को मार्ने उल्लेख छ ।

फुङलिङ नगरपालिकाको क्षेत्रमा पर्ने करिब ३७९४ मिटर उचाईमा रहेको पाथीभरा सबैको आस्थाको केन्द्र रहेकाले यहाँ जाने तीर्थयात्रीको सहजताका लागि निर्माण सुरु भएको केबलकारले यहाँको पहिचानलाई अझ उच्च बनाउने नगरप्रमुख मादेनले प्रधानमन्त्री समक्ष जानकारी गराएका छन् ।

पाथीभरामा देश–विदेशबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरू पूजा–अर्चनाका लागि आउने भएकाले यसको मौलिकता र पवित्रता जोगाउनु आवश्यक रहेको नगरपालिकाको धारणा छ । मौलिकता र पवित्रतामा केबलकारले कुनै असर नगर्ने भए पनि जिल्लावासीले भन्दा बाहिरी क्षेत्रबाट यसको नकरात्मक प्रचार भएको नगरपालिकाको ठहर छ ।

केबलकार परियोजना निर्माणका क्रममा स्थानीयवासीको सहमति, वातावरणीय प्रभाव मूल्यांकन तथा कानुनी प्रक्रिया पूर्ण रूपमा पालना भएको प्रधानमन्त्रीलाई पठाइएको पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्रमा केही समययता नगरवासीको चाहना विपरीत ‘विकास विरोधी’ पक्ष र जिल्ला बाहिरका व्यक्तिहरू समेत संलग्न भई सामाजिक सञ्जाल र अन्य माध्यमबाट आयोजनामा रोकावट र अन्योलता सिर्जना गर्न खोजिएको दाबी गरिएको छ ।

पत्रमा भनिएको छ, ‘यस जिल्लामा निजी क्षेत्रको लगानीमा अघि बढिरहेका जलविद्युत, प्रसारण लाइन र केबलकार जस्ता उद्योग व्यवसायमा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको छ । यो विषयमा सरकार गम्भिर हुन आवश्यक छ ।’

पाथीभरा देवी दर्शन केबलकार प्रा.लि. ले नेपाल सरकार र नगरपालिकाबाट अनुमति लिई निर्माण कार्य गरिरहेको र हाल बटम स्टेसन तथा टप स्टेसनको काम सम्पन्न हुने चरणमा रहेको पत्रमार्फत् जानकारी दिइएको छ । पाथीभरामा निर्माण हुने केबलकारको विकासले समग्र ताप्लेजुङ जिल्लाकै आर्थिक र पर्यटकीय भविष्य निर्धारण गर्ने नगरपालिकाको ठहर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा