काठमाडौं । भारतको उत्तरप्रदेश राज्यमा बुधबार आएको भीषण हावाहुरीका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको पुष्टि भएको छ । प्रारम्भिक विवरणअनुसार मृतक संख्या १०० नाघिसकेको थियो भने पछिल्लो अद्यावधिकसँगै १०४ पुगेको जनाइएको हो ।
उत्तरप्रदेश सरकारअन्तर्गत विपद् व्यवस्थापन विभागका विशेष कर्तव्य अधिकृत मनोज कुमारका अनुसार हालसम्म प्राप्त विवरणमा मृत्यु संख्या १०४ पुगेको जानकारी बीबीसी हिन्दीलाई दिइएको छ । उनका अनुसार घटनामा ५२ जना घाइते भएका छन् भने करिब १३० पशुचौपाया मरेका छन् । साथै, ९८ वटा घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ ।
बुधबार राति आएको तीव्र आँधी-हुरी र वर्षाले नेपालसँग सीमा जोडिएको भारतको उत्तरप्रदेशका विभिन्न क्षेत्र प्रभावित बनेका थिए । घटनाका क्रममा पर्खाल ढल्ने, रूखहरू ढल्ने तथा कच्चा संरचना भत्किने जस्ता क्षति भएका विवरण सार्वजनिक भएका छन् ।
प्रशासनिक तथ्यांकअनुसार सबैभन्दा धेरै मानवीय क्षति वाराणसी, प्रयागराज र कानपुर क्षेत्रहरूमा भएको छ । प्रयागराजमा २१, मिर्जापुरमा १९, फतेहपुरमा ११ तथा कानपुर देहातमा २ जनाको मृत्यु भएको उल्लेख छ ।
हावाहुरीका कारण विद्युत् संरचना पनि व्यापक रूपमा प्रभावित भएको छ । प्रयागराज र कानपुर क्षेत्रका केही जिल्लामा बिजुलीका पोल ढल्नु र तार चुँडिनुका कारण लामो समयसम्म विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । ग्रामीण भेगमा खेतीबालीमा समेत क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
